ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा नेपाली युवाका लागि भर्ना लिँदै « Nagarik Khabar

ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा नेपाली युवाका लागि भर्ना लिँदै



काठमाडौं । इन्टेक २०२० का लागि ब्रिटिश गोर्खा र सिंगापुर पुलिस फोर्सका लागि साढे पाँच सय नेपाली युवाहरुलाई भर्ना लिने भएको छ ।

आगामी मे २७ देखि जुलाई ७ सम्म पोखरा र धरानमा एकैसाथ भर्ना लिने भएको हो । कम्तिमा ब्रिटिश गोर्खाले ४३२ जना र सिंगापुर पुलिस फोर्समा १२० जना भर्ना लिने सूचना जारी गरेको छ ।

आज एक दैनिक पत्रिकामा गोर्खा भर्तिबारे सूचना भन्ने शीर्षकमा सूचना प्रकाशित गर्दै गोर्खा भर्तिका लागि आव्हान गरेको हो । भर्नाका लागि छनौट पारदर्शी हुने बताएको छ । उसले सूचनाको शीर्ष स्थानमै भनेको छ– छनौट योग्यतामा आधारित छ र केवल उत्कृष्ट उम्मेदरवारहरु मात्र स्वीकार्य हुनेछन् । छनौट प्रक्रिया निशुल्क, निष्पक्ष र पारदर्शी हुनेछ ।

ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा भर्ना हुनका लागि विभिन्न प्रशिक्षण केन्द्रहरुले तालिम दिइरहेको छ । तालिम केन्द्रहरुमार्फत् रकम असुलेर भर्ना गर्ने गरेको व्यापक गुनासो पनि सुनिँदै आएको छ । त्यसैले पनि सूचनामै प्रशिक्षण केन्द्रहरुको ब्रिटिश गोर्खा र सिंगापुर पुलिस फोर्ससँग कुनै सम्बन्ध नरहेको स्पष्ट गरेको छ । उसले सूचनामै भनेको छ– प्रशिक्षण केन्द्रमा भर्ना हुनका लागि महंगो हुनसक्छ र गोर्खा भर्तिमा सफलता ग्यारेन्टी छैन ।

भर्ना हुनका लागि भर्ना प्रक्रिया गोर्खा ब्रिटिश सेनाको कानुन अनुसार सञ्चालन हुने जनाएको छ । त्यसैगरी, न्यूनतम योग्यता पुगेको हुनुपर्ने भनेको छ । योग्यतामा एसएलसी उत्तीर्ण भएका, १८ वर्ष उमेर पुगेका, उचाई १५८ सेन्टिमिटर हुनुपर्ने लगायत छन् ।

भर्ति हुनका लागि विभिन्न व्यक्ति र समूहले रकम असुल्ने गरेको विगतमा सुनिदै आएको छ । त्यसलाई निराकरण गर्नका लागि यसपटक भने सूचनामै सचेत गराएको छ । भर्ति हुनका लागि कुनै पैसा नलाग्ने, कसैले भर्ति गराइदिन्छु भन्दै रकम मागेमा नदिनका लागि समेत सचेत गराएको छ ।

ठूलै सूचना प्रकाशन गरेपनि भर्ना कसका लागि आव्हान गरिएको हो भन्नेबारे केही खुलाएको छैन । भर्नाका लागि नेपाली युवालाई आव्हान गरिएको भएपनि त्यसबारे केही नखुलाउनुले भने नेपाल र बेलायतबीच भर्तिबारे सिधा सम्झौता नहुनुको अर्थका रुपमा विश्लेषकहरुले लिएका छन् ।

गोर्खा भर्तिबारे टिकाटिप्पणी भइरहेका बेला नेपाली युवाका लागि बढी संख्यामा भर्ना लिनका लागि आव्हान गरिएको छ । सन् २०१८ मा ब्रिटिश गोर्खामा २७० र सिंगापुर पुलिसमा १०० भर्नाका लागि आव्हान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: