प्रहरीमा १६ सय जनाको राजीनामा, २२ हजार जनशक्ति अपुग « Nagarik Khabar

प्रहरीमा १६ सय जनाको राजीनामा, २२ हजार जनशक्ति अपुग



काठमाडौं । सुरक्षा निकायको तल्लो दर्जामा रहेका कर्मचारी कतिवेला पेन्सन पाक्ला र जागिर छाडेर अर्को पेशा व्यवसाय गरौला भन्दै दिन गन्तीले डिउटी गर्न बाध्य छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ती भएका कतिपय जवानको ऋणमै जीवन गुजरा गर्नुपर्ने अवस्था आएपछि उनीहरु साच्चिकै निराश भएका हुन । पेन्सन पाकेकाहरु हातमा राजीनामाको निवेदन बोकेर प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी मूख्यालय र सैनिक मुख्यालयमा धाइरहेका छन् ।

जागिरको शुरुवातमा जति तबल स्केल हुन्छ बढुवा नहँुदासम्म त्यही तलब स्केलमा जागिर खानुपर्ने उनीहरुको बाध्यता हो । बढुवा भएपनि केही हजार मात्रै थपिने हो तर साँच्चै परिवार धान्नेगरी जागिरले पुग्ने अवस्था छैन । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको जवानमा भर्ना हुँदा उनीहरुको तलब स्केल १७ हजार २ सय ३० हुन्छ । कम्तीमा त्यसको पाँच बर्षसम्म वा सरकारले तलब बृद्धि नगरेसम्म त्यही तलबमा उनीहरुले घरपरिवार धान्नुपर्ने बाध्यता छ ।

राजीनामाकोे निवेदन बोकेर प्रहरी प्रधान कार्यालयमा भेटिएका एक प्रहरी हवल्दारको गुनासो पनि यस्तै छ । ‘छोरा छोरी बढे १८ बर्षसम्म हवल्दार भन्दा माथि जान सकिएन ग्रेड बढुवा र राशन भत्ताले मात्रै घर धान्न गाह्रो भो जागिर छाडेने प्रकृयामा छु’, उनले भने ‘सरकारी जागिर हो पेन्सनको लोभ बाहेक केही छैन अहिलेसम्म यसपछिको जीवन व्यापार व्यवसाय गरेर बिताउनेछु ।’

प्रहरी प्रधान कार्यालयका अनुसार, आर्थिक वर्ष २०७३/०७४ सालमा ११ सय जनाले राजीनामा दिएका थिए । तीमध्ये ५ सय ४५ हवल्दार, २ सय ४३ असई र १ सय ९२ प्रहरी जवान रहेका छन् । तर पनि, देशभर प्रहरीको माग बढिरहेको छ ।

नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको जवानमा भर्ना हुँदा उनीहरुको तलब स्केल १७ हजार २ सय ३० हुन्छ ।

कम्तीमा त्यसको पाँच बर्षसम्म वा सरकारले तलब बृद्धि नगरेसम्म त्यही तलबमा उनीहरुले घरपरिवार धान्नुपर्ने बाध्यता छ ।

आर्थिक वर्ष २०७४/०७५ सालमा मात्र झण्डै १४ सय जनाले राजीनामा दिएका छन् । तीमध्ये ९ सय ८७ हवल्दार, १ सय ७५ जवान र १ सय ६३ असई रहेका छन् । आर्थिक बर्ष २०७५/०७६मा पनि त्यसको संख्या बढेको छ । यो बर्ष १६ जनाले जागिर छाडेका छन् । त्यसमध्ये १ हजार ७५ जना हवल्दार र २ सय २० जना जवान तथा १ सय ३० भन्दा बढी असइले जागिर छाडेका छन् ।

नेपाल प्रहरीमा मात्र होइन, सशस्त्र प्रहरी र सेनामा पनि राजीनामा दिएर जागिर छोड्ने तल्लो तहका प्रहरी कर्मचारीहरूको संख्या बढेको छ । मुलुक संघीय संरचनामा गएसँगै सेवा सुविधा र वृत्ति विकास प्रति असन्तुष्टि जनाएर राजीनामा गर्नेहरूको संख्या बढेको हो ।
सशस्त्र प्रहरीमा गतबर्ष करिव १ हजार २ सय जनाले जागिर छाडेका थिए । सशस्त्र प्रहरी बलमा झण्डै ३७ हजार जनशक्ति छ । पेन्सन पकाएर राजीनामा दिनेहरूमा आर्थिक वर्ष २०७४/०७५ साल र २०७५/०७६ सालको हालसम्म १ हजार दुई सय जनाले जागिर छाडेका थिए ।

उमेर हद र सेवा अवधिको भन्दा पेन्सन पकाएर र बीचमै राजीनामा दिएर जानेहरूको संख्या बढी देखिन्छ । गत बर्ष सशस्त्र प्रहरीले खुलाएको प्रहरी भर्नाको आवेदनमा आवश्यक संख्या नै पुगेको थिएन । सशस्त्र प्रहरीले गत चैत महिनामा १ हजार ७ सय जनाको भर्ना खुलाएको थियो । हाल उनीहरुको छनौट प्रकृया चलिरहेको छ ।
नेपाली सेनामा हाल ९५ हजार सैनिक कर्मचारी कार्यरत रहेका छन् । उनीहरुको अवस्था पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीको भन्दा कम छैन ।

नेपाल प्रहरीमा करिव ३ हजार जवानको दरवन्दी रिक्त रहेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता उत्तम सुवेदीले जानकारी दिए । उनका अनुसार दरबन्दी खाली रहेको छ भर्ना खुलाउने विषयमा प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई अनुरोध गरिरहेको छ । ७५ हजार जनशक्ति रहेको प्रहरी संगठनमा तल्लो तहका कर्मचारीको संख्या ६० हजारको हाराहारीमा छ ।

देशका ३० वटा गाँउपालिका र नगरपालिकामा अझै पनि प्रहरीको उपस्थिति हुन सकेको छैन । सो स्थानका लागि सरकारले नेपाल प्रहरीमा ३ हजार ३ सय नयाँ दरबन्दी थप गरेको छ । अझै २२ हजार जनशक्ति आवश्यक रहेको प्रहरी प्रवक्ता सुवेदीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: