नेपालद्धारा उपाधि रक्षा « Nagarik Khabar

नेपालद्धारा उपाधि रक्षा



काठमाडौं । साविक विजेता नेपालले एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गरेको छ । आइतबार भएको फाइनल खेलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

थाइल्यान्डको च्याङमाई स्थित क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ३५ ओभरमा नौं विकेट गुमाउँदै एक सय ४० रनको योगफल तय गरेको थियो । जवाफी ब्याटिङमा आएको मलेसियालाई ३४.५ ओभरमा ८१ रनमै समेट्दै नेपालले उपाधि पक्का गरेको हो ।

नेपाललाई उपाधि दिलाउँन फाइनल खेलमा प्रशान्त महतले सर्वाधिक ४० रनको योगदान दिए । उनले आफ्नो पालीमा पाँच चौका प्रहार गरेका थिए । यस्तै प्रारम्भिक ब्याट्सम्यान दीपक बोहोराले २३ र निखिलकुमार सिंहले १३ रनको योगदान दिए ।

मलेसियाका लागि मुहम्मद हाजिक एइमानले १८ रन जोड्न बाहेक अन्य कुनै पनि खेलाडीले त्यो भन्दा माथिको योगदान गर्न सकेनन् । वान मुहम्मद अजामले १६ र जिनेन्द्र मुरालीले १४ रन जोडे । मलेसियालाई सस्तो योगफलमा समेट्न नेपालका विशालकुमार पटेल एक्लैले चार तथा दीपक बोहोराले तीन विकेट लिए । नेपालको जितमा बल र ब्याट दुवैबाट सशक्त प्रदर्शन गरेका दीपक म्यान अफ दी म्याच समेत चुनिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: