ललितपुर । काठमाडौं महानगरपालिकाले सडकको धुलो सफा गर्ने ब्रुमर भित्र्याएको महिना बित्न नपाउँदै उपत्यकाकै अर्को महानगर ललिपुरले पनि खरिदको प्रक्रियो अघि बढाएको छ ।
ललितपुर महानगरपालिकाले आगामी असारसम्म दुई वटा ब्रमुर खरिद गर्न खरिद प्रक्रिया अघि बढाएको हो । महानगरपालिकाले स्वीटजरल्याण्डमा निर्मित ब्रुमर खरिद गर्न लागेको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । उक्त ब्रुमर काठमाडौं महानगरपालिकाले प्रयोग गरिरहेको जस्तै आधुनिक हुने उनको भनाइ छ ।
महानगरपालिकाभित्रका शहरी क्षेत्रमा धुलो सफा गर्नका लागि दुई वटा ब्रुमर पर्याप्त हुने प्रवक्ता महर्जनको भनाइ छ । उनले भने, ‘नगरका भित्री क्षेत्रमा सफा गर्न दुई वटा ब्रुमर पर्याप्त हुनेछ ।’
ललितपुर महानगरपालिकामा अहिले एउटा सानो ब्रुमर भए पनि सञ्चालनमा आएको छैन । उक्त ब्रुमर पुरानो प्रविधिको भएको र धेरै धुवाँ फल्ने भएकाले वातावरण प्रदूषण गर्ने भएकाले अहिले सञ्चालनमा नगरिएको प्रवक्ता महर्जनको भनाइ छ ।