क्यान निलम्बनको तीन वर्ष : के भन्छन् कप्तान पारस खड्का ? (हेर्नुस भिडियो) « Nagarik Khabar

क्यान निलम्बनको तीन वर्ष : के भन्छन् कप्तान पारस खड्का ? (हेर्नुस भिडियो)



काठमाडौं । नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट निलम्वनमा परेको यो शुक्रवार तीन वर्ष पुगेको छ । आईसीसीले सन् २०१६ अप्रिल २६ तारिखमा क्यानमाथि निलम्वनको निर्णय सार्वजनिक गरेको थियो ।

तत्कालीन उपाध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेल नेतृत्वको टोलीले नियमित प्रक्रिया र निर्वाचनमार्फत नयाँ कार्यसमितिको चयन ग¥यो । निर्वाचन प्रक्रिया रोक्न आफूले दिएको निर्देशन नमानेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्वाचित समितिको समानान्तरमा अर्को समिति गठन गरिदियो ।

त्यसपछि नै आईसीसीले क्यानमाथि राजनीतिक हस्तक्षेप भएको र स्वतन्त्र निर्वाचन हुन नसकेको, दुई कारण देखाउँदै क्यान माथि निलम्वनको निर्णय गरेको थियो । त्यसपछि क्यानमाथिको निलम्बन फुकुवा का लागि आईसीसीको निर्देशन अनुसार प्रक्रिया सुरु भए पनि ती प्रक्रिया सन्तोषजनक रूपमा अघि बढिरहेका छैनन् ।

क्यान निलम्वनमा रहेकै अवस्थामा समेत नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक ओडिआई स्टाटस प्राप्त ग¥यो । उमेर समूहका राष्ट्रिय टोली र महिला क्रिकेटले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नियमित रूपमै सशक्त प्रदर्शन गरिरहेकै छन् । तर, क्यान निलम्वनमा रहेसँगै घरेलु क्रिकेटको अन्य पाटो ठप्प जस्तै भएको छ ।

निजी क्षेत्रले गरेका टी ट्वेन्टी फेञ्चाईज क्रिकेट बाहेक ५० ओभरका प्रतियोगिता भएकै छैनन् । भौतिक संरचनाको निर्माण र भएका संरचनाको संरक्षणको अवस्था दयनीय छ । सबै भन्दा महत्त्वपूर्ण कुरा, पछिल्लो तीन वर्ष यता खेलाडीले आफ्नो अभिभावकत्व गुमाए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का भन्छन् ‘क्यान नहुँदा हामीले धेरै गुमाएका छौँ ।’ यो अवस्थामा नेपाली क्रिकेट कसरी चल्यो ? खेलाडीहरूले त्यसको सामना कसरी गरिरहेका छन् ? क्यान निलम्वन फुकुवा गर्न कस्ले के गर्नुपर्छ ? कप्तान पारस खड्काको शब्दमा,

 

००० ००० ०००

  • नेपालीले क्रिकेटलाई मन पराई सकेका छन् । नाम्चे बजारसम्म पनि क्रिकेट खेल्न थालिएको छ । तर, क्यान नहुँदा हामीले धेरै कुरा गुमाएका छौँ । प्रायोजक गुमाएका छौँ । हामी राष्ट्रिय झन्डा मात्रै लिएर खेलिरहेका छौँ । क्यानको लोगो समेत छैन । यो साच्चिकै दुःख लाग्दो कुरा हो ।
  • यसमा हामी सबै दोषी छौँ जस्तो लाग्छ । हामी खेलाडीले पनि विगतमा धेरै विरोध गरेका थियौँ । हाम्रो विरोध क्रिकेटमा राम्रो होस् भन्नेमा थियो । यद्यपि हामीले भने जस्तो क्रिकेट अगाडि गएन । समग्रमा सबैको कमजोरी रह्यो ।
  • नेपाली क्रिकेटले जहिले पनि मैदानमा राम्रो प्रदर्शन गर्दै आइरहेको छ । अब सबैले आफ्नो अहमलाई त्यागेर अगाडि आउनुपर्छ । अझै पनि मै अध्यक्ष वा मै कप्तान बन्नु पर्छ भन्ने तर्क लिएर अघि बढ्यो भने हुँदैन ।
  • क्रिकेट खेल्ने र चासो राख्ने मान्छे धेरै भए । तर, त्यसलाई बुझ्न सक्ने वातावरण बनेन । हामीले ठुला सफलता हात पा¥यौ तर त्यस अनुसारको केही भएन ।
  • अहिले सबै कुरा आईसीसीलाई भन्नुपर्ने अवस्था छ । म्यानेजरमार्फत हामीलाई यस्तो चाहियो भन्छौँ । आईसीसीले उपलब्ध जे छ, त्यसअनुसार गरिदिन्छ ।
  • अब हामी ठुला प्रतियोगिता खेल्दै छौँ । क्यान बिना अब अघि बढ्न सक्दैनौँ । आईसीसी पनि सधैँ नेपाललाई हेरेर बस्न सक्दैन । आईसीसीले नेपाली क्रिकेट चलाउने हैन । त्यसैले क्यान नहुँदा हामीलाई धेरै घाटा छ । प्रायोजक ल्याउन मात्रै हैन, प्रतियोगिता तय गर्न समेत मुस्किल छ । अहिले क्रिकेटलाई माया गर्ने धेरै बढेका छन् । यो अवस्थामा नतिजा पनि आइरहेको छ । यो बेला क्यान भएको भए, सायद नेपाली क्रिकेटले धेरै राम्रो गर्न सक्थ्यो ।
  • हाम्रो उद्देश्य भनेको टेस्ट प्लेइङ नेशन हुनु हो । त्यसका लागि अझै १५/२० वर्ष लाग्ला । तर, त्यस त्यहाँसम्म पुग्नलाई अहिले देखिनै तयारी गर्नुप¥यो । अहिले नै राम्रो सुरुवात गरेनौँ भने १५/२० वर्ष लाग्ने यात्रा अझै ४०/५० वर्ष लाग्न सक्छ । त्यसैले हामीलाई कुनै पनि अवस्थामा क्यान चाहिन्छ । क्यानमा जो पनि आउनुहुन्छ, राम्रोसँग काम गर्नुहुन्छ भने, नेपाली क्रिकेट राम्रो हुने छ । हामीसँग पर्याप्त स्रोत छ । त्यसलाई राम्रोसँग सदुपयोग गर्नुपर्छ ।
  • विश्वकप खेलेर भन्दा पनि हाम्रो आन्तरिक संरचना राम्रो बनाउन सक्यौँ भने हामी राम्रो गर्न सक्छौँ ।
  • ओडिआई नेशन भएपछि खेलाडीसँगको अर्कै सम्झौता हुनुपर्छ । अफिसियल्सहरूका लागि र  क्रिकेट विकासका लागि भनेर छुट्टै रकम आउँछ । तर, नेपालमा त्यो भएकै छैन ।  
  • आईसीसीले हामीले यसो गर्नुप¥यो भन्दा गरिदिन्छ । तर, त्यो भन्दा बाहेक केही पनि गर्दैन । हाम्रो क्रिकेटको विकास वा खेलाडीले अब के गर्ने भन्ने विषयमा केही पनि हुँदैन । अहिले खेलाडी छनोट गर्नका लागि समेत राम्रो प्रतियोगिता छैन । खेलाडीलाई पनि अवसर निक्कै कम छ अहिले ।
  • अहिले क्रिकेटमा लगानी गर्ने धेरै मान्छेहरू आउनुभएको छ । यो अवस्थामा सही मान्छेलाई अघि बढाउने हो भने नेपाली क्रिकेट आफू सस्टेन हुन सक्ने वातावरण छ ।
  • कतिपयले पारसले सबै कुरा आफैले गर्न खोज्यो भन्ने आरोप पनि लगाउनुभएको छ । तर, म नेपाली क्रिकेट र नेपाली क्रिकेट खेलाडीका लागि जहाँ फाइदा हुन्छ त्यहाँ उभिने प्रयास गरेको हुँ । कप्तान भएको नाताले खेलाडीलाई कसरी एकै ठाउँमा बाँधेर अघि बढ्ने भन्ने प्रयास गरिरहेको छु ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: