बृहत् विराट क्षेत्रमा १८ स्थानीय तह « Nagarik Khabar

बृहत् विराट क्षेत्रमा १८ स्थानीय तह



विराटनगर । प्रदेश नम्बर १ सभाले ‘बृहत् विराट विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ पारित गरिएको छ । प्रदेशसभाको आइतबारको बैठकमा प्रदेश नम्बर १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पेश गरेका थिए ।

विधेयकमा संशोधनका लागि प्रस्ताव दर्ता गरेका सदस्य जयराम यादव, निरन राई, शिवनारायण गनगाँई र मोहनकुमार खड्काको प्रस्तावमा मन्त्री कार्कीले केही प्रस्ताव स्वीकार गरेपछि अन्य प्रस्ताव सदस्यले फिर्ता लिएर विधेयक पारित भएको थियो ।

मन्त्री कार्कीले बृहत् विराट विकासको अवधारणमा पहिले १२ स्थानीय तह समेटिएको र संशोधन प्रस्तावपछि यसमा १८ स्थानीय तह समेटिएको जानकारी दिए ।

शून्य समय

प्रदेशसभा सदस्य अम्बिका थापाले प्रदेश नम्बर १ र प्रदेश नम्बर २ को सिरहा, उदयपुर र सुनसरीको सीमानामा केही स्थानमा विवाद देखिएकाले त्यसलाई समाधान गर्न प्रदेश सरकारको ध्यानकर्षण गराए । सदस्य उपेन्द्र घिमिरेले मोरङको पथरीमा भइरहेको अपराधिक गतिविधिलाई नियन्त्रण गर्न माग गरे । सदस्य कृष्णकुमारी राईले वैज्ञानिक वनका नाममा वन विनाश हुने कार्य भइरहेकाले त्यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए ।

यस्तै, सदस्य राजन राईले नेपालको राष्ट्रिय गान रचना गर्ने ब्याकुल माईला आर्थिक सङ्कटमा देखिएकाले प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: