मोटरसाइकल चोरी नियन्त्रण गर्न प्रहरीको अभियान « Nagarik Khabar

मोटरसाइकल चोरी नियन्त्रण गर्न प्रहरीको अभियान



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले मोटरसाइकल चोरी नियन्त्रण अभियान थालेको छ । विशेष कार्ययोजनासहित सादा पोशाकका प्रहरी परिचालन गरी चोरी नियन्त्रण अभियान थालिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।

शङ्कास्पद मोटरसाइकल जाँच गर्ने, वर्कशपमा नै पुगेर हेर्ने, इन्जिन तथा चेसिस नम्बर जाँच गरी रुजु गरी चोरीको हो वा होइन पत्ता लगाउन टोली नै परिचालन गरिएको पन्तले बताए । ट्राफिक प्रहरीले बढी चोरी हुने स्थानको पहिचान गरी सम्भावित क्षेत्रमा निगरानी बढाउँदै शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धानसमेत गर्न थालिएको छ । चोरीका मोटरसाइकल प्रायः दुर्गम बस्तीमा घाँस दाउरा बोक्न र दूध ओसारपसार गर्ने काममा प्रयोग हुने गरेकासमेत प्रहरीले जनाएको छ ।

राजधानीका मोटरसाइकल दुर्गम जिल्लामा लगेर नक्कली ब्लूबुक बनाइ चलाउने, नयाँ मोटरसाइकलको पाटपूर्जा खोली पुराना सक्कली मोटरसाइकलमा राख्ने र काम नलाग्ने पार्टपूर्जा बेवारिसे अवस्थामा फाल्ने गरेकाले पनि मोटरसाइकल फेला पार्न नसकिएको हो । चालू आर्थिक वर्षको आठ महिनामा काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाबाट एक हजार ३९८ मोटरसाइकल चोरी भएको तथ्याङ्क छ । तीमध्ये ३७६ मोटरसाइकल फेला परेका छन् ।

फेला परेकामध्ये २६३ कमोटरसाइकल सम्बन्धित व्यक्तिलाई तथा ९९ मोटरसाइकल भन्सार कार्यालयमा बुझाइएको छ । चोरीमा संलग्न ६९ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानूनी कारवाही गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: