म्यानचेस्टर सिटी पुनः शीर्ष स्थानमा « Nagarik Khabar

म्यानचेस्टर सिटी पुनः शीर्ष स्थानमा



लण्डन । म्यानचेस्टर सिटी पुनः इङ्लिस प्रिमियर लिग अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा बर्नलीलाई १–० गोलले पराजित गर्दै म्यान सिटी पुन शीर्ष स्थानमा फर्किएको हो ।

शीर्ष स्थानमा उक्लन नजिकको प्रतिद्वन्दी लिभरपुललाई एक अंकले पछि पारेको म्यान सिटीले आफ्नो उपाधि सम्भावनालाई पनि थप बलियो बनाएको छ । इङ्लिस प्रिमियर लिगमा अब अन्तिम दुई चरणको खेल बाँकी रहँदा उपाधिका लागि म्यान सिटी र लिभरपुलको चर्काे प्रतिस्पर्धा देखिएको छ ।

गत शुक्रबार मात्रै लिभरपुल हडर्सफिल्डलाई ५–० को भारी अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको थियो । समान खेल खेल्दा एक अंकले अघि रहेकाले उपाधि होडमा म्यान सिटीले केही राहत महसुस् गरेको छ । प्रतियोगिताको अन्तिम दुई खेल जिते वा लिभरपुलले पराजय बेहोरेको अवस्थामा म्यान सिटीले उपाधि जित्ने छ । लिभरपुलका लागि भने उपाधि जित्न आफूले बाँकी रहेको दुबै खेलमा जित हात पारेर मात्रै पुग्ने छैन, म्यान सिटीले पनि कम्तिमा एक खेलमा पराजय बेहोर्नु पर्ने छ ।

आइतबार बर्नलीको मैदान टर्फ मुरमा भएको खेलमा म्यान सिटीलाई जित दिलाउँन सर्जियो अगुएरोले निर्णायक गोल गरेका थिए । खेलको ६३औं मिनेटमा अगुएरोको सशक्त प्रहार बर्नलीका गोलरक्षक टोम हिटनको हातमा लागेर गोलमा परिणत हुन पुगेको थियो ।

इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार नै भएको अर्काे खेलमा आर्सनलले लेस्टर सिटीसँग ३–० को पराजय बेहोरेको छ । म्यानचेस्टर युनाइटेड र चेल्सीले भने १–१ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: