रसेल र गिलको विस्फोटक ब्याटिङमा मुम्बईमाथि कोलकाताको महत्वपूर्ण जित « Nagarik Khabar

रसेल र गिलको विस्फोटक ब्याटिङमा मुम्बईमाथि कोलकाताको महत्वपूर्ण जित



कोलकाता । एन्द्रे रसेल र सबमन गिलले विस्फोटक ब्याटिङ गरेपछि कोलकाता नाइट राइर्डले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको खेलमा मुम्बई इन्डियन्सलाई ३४ रनले पराजित गरेको छ ।

कोलकाताका लागि यो जित लगातार ६ खेलको पराजयपछि प्राप्त पहिलो जित हो । यो जितसँगै कोलकाताले प्लेअफ चरणको सम्भावना पनि कायमै राखेको छ ।

घरेलु मैदान इडेन गार्डेनमा टस हारी पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै दुई सय ३२ रन बनाएको थियो । जवाफमा आएको मुम्बईले निर्धारित ओभरमा सात विकेट गुमाउँदा एक सय ९८ रन मात्रै जोड्न सकेपछि कोलकाताको जित निश्चित भएको थियो ।

कोलकाताका लागि रसेलले ४० बलमा अविजित ८० रन जोडेका थिए । यस्तै गिलले ४५ बलमा ७६ र क्रिस ल्यानले २९ बलमा ५४ रन जोडेका थिए । रसेलले आफ्नो पालीमा आठ छक्का र ६ चौका, गिलले चार छक्का र ६ चौका तथा ल्यानले दुई छक्का र आठ चौका प्रहार गरेका थिए ।

मुम्बईका लागि भने हार्दिक पाण्ड्याले ३४ बलमा ९१ रनको पाली खेले पनि टोलीको जित सम्भव भएन । पाण्ड्याले आफ्नो पालीमा ९ छक्का र ६ चौका प्रहार गरेका थिए । अन्य खेलाडीले भने खासै उल्लेख्य प्रदर्शन गर्न सकेनन् । कोलकाताका सुनिल नराईन, हारी गुने र रसेलले दुई÷दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: