बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जापानको सत्ताधारी पार्टी लिबरल डेमोक्यार्टिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता गरेको छ ।
बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)को दोस्रो अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी भएर चीनमै रहेकी राष्ट्रपति भण्डारीसँग सोही सम्मेलनमा भाग लिन आएको जापानी टोलीले आज शिष्टाचार भेट गरेको हो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले जापान नेपालको असल र नजिकको मित्र भएको र नेपालको विकास परियोजनामा सबैभन्दा ठूलो सहयोगी भएको बताइन् । उनले जापान सरकारबाट भएका काम राम्रा र स्तरीय भएको भनी प्रशंसा समेत गरिन् ।
उपप्रमुख तोशिहिरो निकाइले दुई मुलुकको सम्बन्ध सकारात्मक भएको र नेपालमा महिला सशक्तीकरणका प्रयासका उदाहरण महिला स्वयं राष्ट्रपति भएकोबाट प्राप्त हुने र यसबाट जापानले पनि सिक्नसक्ने बताए ।
भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सङ्घीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।