काठमाडौं । सरकार बजेटको तयारीमा लागिरहँदा सत्तारुद्ध घटक संघीय समाजवादी फोरम सरकार छाड्ने तर्खरमा छ । सरकारमा गएको एक वर्ष पनि नबित्दै उसले सरकार छाड्ने तयारी गरेको हो ।
गत जेठ १४ गते सरकारमा सहभागी हुने भन्दै गरेको सहमति कार्यान्वयन गर्नेतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै तत्परता नदेखाएको भन्दै फोरम सरकार छाड्ने तयारीमा लागेको हो ।
संविधान संशोधनमार्फत् फोरमले आन्दोलनका क्रममा उठाउँदै आएका माग पूरा गर्ने सहमति भएको थियो । सरकारले त्यसतर्फ ध्यान नदिएको भन्दै फोरम अध्यक्ष तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव तथा वरिष्ठ नेता अशोक राई सार्वजनिक रुपमा नै सरकार छाड्ने चेतावनी दिइसकेका छन् ।
अहिले अध्यक्ष यादव लगायतका नेताहरु १ नम्बर प्रदेशको पार्टी अधिवेसनको काममा व्यस्त छन् । फोरमको वैशाख २१ गते काठाडौंमा केन्द्रीय समिति बैठक बस्दैछ । सो बैठकले सरकार छाड्ने या नछाड्ने भन्नेबारे औपचारिक निर्णय गर्ने नेता आङकाजी शेर्पाले बताउनुभयो ।
आफ्ना माग पूरा गर्नेतर्फ स्मरण गराउँदै फोरमले गत पुस २१ गते ११ बुँदै स्मरणपत्र प्रधानमन्त्रीलाई बुझाएको थियो । सो स्मरणपत्रमा आफूहरुबीचमा भएको सहमति कार्यान्वयन गर्नका लागि कार्यदल बनाउनुपर्ने, संविधान संशोधनका लागि कार्यदल गठन गर्नुपर्ने लगायतका माग समेटिएका थिए ।
त्यसैगरी, गत जेठ १४ गते भएको सहमतिको पहिलो बुँदामा नै ‘फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ’ भनिएको थियो ।