सरकार बजेटको तयारीमा, सत्तारुढ दल फोरम सरकार छाड्ने तर्खरमा « Nagarik Khabar

सरकार बजेटको तयारीमा, सत्तारुढ दल फोरम सरकार छाड्ने तर्खरमा



काठमाडौं । सरकार बजेटको तयारीमा लागिरहँदा सत्तारुद्ध घटक संघीय समाजवादी फोरम सरकार छाड्ने तर्खरमा छ । सरकारमा गएको एक वर्ष पनि नबित्दै उसले सरकार छाड्ने तयारी गरेको हो ।

गत जेठ १४ गते सरकारमा सहभागी हुने भन्दै गरेको सहमति कार्यान्वयन गर्नेतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै तत्परता नदेखाएको भन्दै फोरम सरकार छाड्ने तयारीमा लागेको हो ।

संविधान संशोधनमार्फत् फोरमले आन्दोलनका क्रममा उठाउँदै आएका माग पूरा गर्ने सहमति भएको थियो । सरकारले त्यसतर्फ ध्यान नदिएको भन्दै फोरम अध्यक्ष तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव तथा वरिष्ठ नेता अशोक राई सार्वजनिक रुपमा नै सरकार छाड्ने चेतावनी दिइसकेका छन् ।

अहिले अध्यक्ष यादव लगायतका नेताहरु १ नम्बर प्रदेशको पार्टी अधिवेसनको काममा व्यस्त छन् । फोरमको वैशाख २१ गते काठाडौंमा केन्द्रीय समिति बैठक बस्दैछ । सो बैठकले सरकार छाड्ने या नछाड्ने भन्नेबारे औपचारिक निर्णय गर्ने नेता आङकाजी शेर्पाले बताउनुभयो ।

सहमतिपछि स्वास्थ्य मन्त्रालय र शहरी विकास मन्त्रालय लिएर फोरम सरकारमा सहभागी भएको थियो । आफै सहभागी सरकारले आफैहरुबीच भएको सहमति कार्यान्वयन गर्न कठिन देखेपछि फोरममै पनि चरम असन्तुष्टि बढेर गएको छ ।

पछिल्लो समयमा आएर फोरम र राजपाबीचमा समेत पार्टी एकीकरणको चर्चा चलेको छ । यो चर्चासँगै फोरम पनि सरकार छाड्ने तर्खरमा लाग्नुले राजपासित पार्टी एकीकरणको सम्भावना पनि उत्तिकै चुलिएको छ । तर एक फोरमका एक नेताका अनुसार, तत्काल राजपासित सहकार्य भएपनि एकता भने हुँदैन । सरकारलाई राजपाले दिएको समर्थन यसअघि नै फिर्ता लिइसकेको छ ।

आफ्ना माग पूरा गर्नेतर्फ स्मरण गराउँदै फोरमले गत पुस २१ गते ११ बुँदै स्मरणपत्र प्रधानमन्त्रीलाई बुझाएको थियो । सो स्मरणपत्रमा आफूहरुबीचमा भएको सहमति कार्यान्वयन गर्नका लागि कार्यदल बनाउनुपर्ने, संविधान संशोधनका लागि कार्यदल गठन गर्नुपर्ने लगायतका माग समेटिएका थिए ।

त्यसैगरी, गत जेठ १४ गते भएको सहमतिको पहिलो बुँदामा नै ‘फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ’ भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: