काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको चु्नावी घोषणापत्रअनुसार आगामी नीति तथा कार्यक्रम बनाउन सरकारलाई सुझाव दिएको छ ।
सोमबार बसेको सचिवालय बैठकमा संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख समृद्धि, चुनावी घोषणापत्र र सरकारले हालसम्म गरेका सकारात्मक कामहरुको उपलब्धिहरुलाई केन्द्रमा राखी नीति तथा कार्यक्रम ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेताहरुले सझाव दिएका हुन् ।
पार्टी अध्यक्षसमेत रहेको प्रधानमन्त्री ओलीको नीति तथा कार्यक्रम निर्माणका लागि सुझाव मागेपपछि अर्का अध्यक्ष प्रचण्डले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई व्यवहारमा अनुवाद हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको एक नेताले बताए ।
बैशाख २० गते शुक्रबार नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्ने सरकारको तयारी छ । सोही नीति तथा कार्यक्रम ल्याउँदा मुलुकमा भएको युगान्तकारी राजनीतिक परिवर्तनलाई व्यवहारमा उतार्ने गरी ल्याउन सरकारलाई सुझाव दिइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
संघीय संसदको वर्षे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । आगामी शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको तयारी छ । त्यसपछि सरकारले सोही नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ । संविधानअनुसार जेठ १५ गते सरकारले संघीय संसदमा बजेट पेश गर्नेछ ।