काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मेलमिलापमार्फत विवादको समाधान गर्दा दुवै पक्षबीच सम्बन्ध सुधार गर्नुका साथै न्यायपूर्ण र शान्तिपूर्ण समाजको निर्माणमा सहयोग पुग्ने बताएका छन् ।
मेलमिलापकर्ताको दोस्रो राष्ट्रिय सम्मेलनको काठमाडौंमा सोमबार उद्घाटन गर्दै उनले विवादको निरुपण गर्दा छोटो समय, कम खर्चमा हुने भएकाले मेल मेलमिलाप पद्धतिलाई जोड दिनुपर्ने बताए ।
अदालतमा मुद्दा नआउँदै मेलमिलापको विषयमा आम नागरिकलाई सचेत गराउन सके जनताको न्यायमा पहुँचको अवस्था पनि बढ्ने भन्दै मेलमिलाप पद्दति र प्रक्रियाबारे प्रचारप्रसारको आवश्यकता उनले औंल्याए । उनले भने, ,‘‘मेलमिलाप प्रक्रियामा पक्षबीचको सहमतिबाट विवादको समाधान हुने मात्र नभइ यसले विवादका दुबै पक्षलाई भावनात्मक सन्तुष्टि प्रदान गर्दछ ।’ उनले विवाद समाधानको वैकल्पिक माध्यम मेलमिलापलाई सर्वोच्च अदालतले समेत संस्थागत गर्न काम गरिरहेको बताए ।
कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विवाद समाधानको वैकल्पिक उपाय मेलमिलापले जनताको न्यायमा पहुँचको अधिकारलाई रक्षा गर्ने बताए । उनले अदालतबाट लामो समय फैसला र कार्यान्वयनको समस्या हुने भएकाले वैकल्पिक माध्यमबाट विवादको समाधान हुँदा फाटिएको मन जोड्न सहज हुने बताए ।