रोल्पा । रोल्पाको सदरमुकाम लिबाङ नगरपालिकाको तितृकोटमा अज्ञात समूहले बम बिस्फोट गराएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमलाई लक्षित गरी कार्यक्रम स्थलबाट झण्डै एक किलोमिटर नजिक बम विस्फोट गराईएको हो ।
रोल्पाका प्रहरी प्रमुख डिएसपी दिपक खड्काले आज अपरान्ह बम विस्फोट भएको पुष्टि गरे । विस्फोट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गराएको आशंका गरिएको छ । विस्फोटबाट कुनै पनि क्षति नभएको डिएपी खड्काले नागरिक खबरलाई जानकारी दिए ।
जिल्लाभरका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु सहभागी कार्यक्रमलाई मुख्यमन्त्री पोखरेलले रोल्पाको उद्योग वाणिज्य संघको सभाहलमा संबोधन गर्दै गर्दा विस्फोटको ठूलो आवाज आएको थियो । कार्यक्रममा प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी समेत सहभागी थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको रोल्पा प्रहरी प्रमुख डिएसपी दीपक खड्काले बताए ।