फुटबलर जेरार्ड पिकेसँग अनुहार मिल्ने यी नेपाली को हुन् ? (भिडियोसहित) « Nagarik Khabar

फुटबलर जेरार्ड पिकेसँग अनुहार मिल्ने यी नेपाली को हुन् ? (भिडियोसहित)



काठमाडौं । ‘कोही भन्छन् उस्तै, कोही भन्छन् दुरूस्तै ।’ प्रेम गुरागाईले आफ्नो फेसबुक वालमा यही स्टाटससहित दुईवटा तस्वीर पोस्ट गरे ।

दुईमध्ये एक तस्वीरमा छन्, चर्चित स्पेनी फुटवलर जेरार्ड पिके । र, अर्को तस्वीरमा छन्, उनी आफैँ । यी दुई तस्वीर कुनै पनि दृष्टिकोणबाट उस्तै छ । अनुहारको बनोटले मात्रै हैन, उस्तै गोरो छाला, खैरो आँखा र दुवैले पालेका दारीका कारण पनि तस्वीरमा यी दुईलाई छुट्याउँन मुस्किल छ । अझ, कपाल (हेयर स्टाइल) र माथिपट्टिको दाँतका लहर देखाएर मुस्कुराउने शैलीले दुबैलाई एक जस्तै देखाउने गर्छ । (हेर्नुहोस् गुरागाईँको फेसबुक पोस्ट)

पिके स्पेनले सन् २००८ र २०१२ मा युरोकप तथा सन् २०१० मा विश्वकपको उपाधि जित्दाका महत्त्वपूर्ण खेलाडी हुन् । उनी चर्चित कोलम्बियन गायिका शाकिराकी श्रीमान् हुन् । पिके स्पेनी क्लब बार्सिलोनाबाट ब्यवसायिक फुटबल खेल्छन् । उनी सुरुवातबाटै क्लबका मुख्य रक्षक हुन् । बार्सिलोनाको पछिल्ला सवै महत्वपूर्ण उपलब्धीमा पिकेको योगदान जोडिएको छ ।

को हुन् प्रेम गुरागाईं ?

गुरागाईं तत्कालिन नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता हुन् । रत्नराज्य लक्ष्मी क्याम्पसबाट पत्रकारिता अध्ययन गरेका प्रेमले त्यहीबाट विद्यार्थी राजनीति सुरु गरेका हुन् । उनी हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचार प्रसार विभागमा कार्यरत छन् ।

सुरुमा उनलाई आफ्नो अनुहार पिकेसँग मिल्छ भन्ने थाहा थिएन । जब उनका साथीले फेसबुक इन्बक्समा पिकेको तस्वीर पठाएर ‘तिमि जस्तै पो छ त’ भनेर लेखे, उनलाई पनि लाग्यो –हो की क्या हो ।


चर्चित फुटबलर पिकेसँग अनुहार मिल्दा धेरैले जिस्काएको अनुभव छ गुरागाईंको । त्यसमा आफ्नै साथीदेखि नेतासम्म छन् । साथीहरूले पिकेकी श्रीमती शाकिरासँग जोडेर जिस्काउँदा भने आफूलाई अफ्ठेरो लाग्ने गरेको बताउँछन् ।

‘अनुहार मिलेकैले धेरै साथीहरूले मलाई पिकेसँग जोडेर जिस्काउँन् । यो तस्वीर पनि साथीले नै पठाएको हो, त्यसैले मैले फेसबुकमा पोस्ट गरेको हुँ’, प्रेम भन्छन्, ‘पिके मलाई मन पर्ने खेलाडी हुन् । त्यसैले उनीसँग जोडेर जिस्काउँदा खासै त्यस्तो अफ्ठेरो लाग्दैन । तर, कतिपय साथीहरूले उनकी श्रीमती शाकिरासँग जोडेर जिस्काउँछन् । त्यतिबेला चाहिँ अफ्ठेरो महसुस हुन्छ ।’

प्रेम आफैँ पनि फुटबलका पारखी हुन् । उनी प्रायः फुटबल खेल हेर्छन् । त्यसमा उनलाई मन पर्ने राष्ट्रिय टोली अर्जेन्टिना हो । क्लबमा उनै पिकेको टोली बार्सिलोनालाई समर्थन गर्छन् । उनी बार्सिलोनाका लागि पिकेले गोल गर्दा आफैँ खुसी मनाउँछन् ।

उनी कुनै दिन आफूसँग अनुहार मिल्ने यी चर्चित फुटवलरलाई भेट्ने योजनामा छन् । उनी भन्छन्, ‘समय र अवस्थाले मिलेसम्म उनलाई भेट्ने छु ।’

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: