नेकपा उपनेता नेम्बाङको प्रतिपक्षलाई आह्वान, ‘आग्रह, पूर्वाग्रहभन्दा माथि उठौं’ (भिडियोसहित) « Nagarik Khabar

नेकपा उपनेता नेम्बाङको प्रतिपक्षलाई आह्वान, ‘आग्रह, पूर्वाग्रहभन्दा माथि उठौं’ (भिडियोसहित)



काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले सबै प्रकारका आग्रह, पूर्वाग्रहभन्दा माथि उठ्न प्रतिपक्षी दललाई आग्रह गरेका छन् । सोमबार संघीय संसदको बजेट अधिवेशनको पहिलो बैठकमा शुभकामना मन्तव्य राख्दै उनले सबै प्रकारका आग्रह, पूर्वाग्रहबाट माथि उठेर जनतालाई परिणाम देखाउने गरी काम गर्नका लागि निरंकुशताविरुद्ध आन्दोलन गरेका शक्तिहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

प्रमुख प्रतिपक्षी दलका नेताले सार्थक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएकोमा धन्यवाद दिँदै उनले सत्तापक्षले पनि आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिवद्धता जाहेर गरे । सत्तापक्षले सधैं प्रतिपक्षी दललाई सम्मान गर्ने भन्दै उपनेता नेम्बाङले सोही अनुसारको भूमिका निर्वाह गर्न आग्रह गरे । उनले जनतालाई सकारात्मक परिणाम देखाउने गरी काम गर्नुको विकल्प नरहेको पनि स्मरण गराए ।

मन्तव्यकै क्रममा उपनेता नेम्बाङले सरकारले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने प्रतिवद्धता व्यक्त गरे । ‘सार्वजनिक जग्गा अतिक्रमण हुन दिइँदैन । कसैले पनि अतिक्रमण गर्न पाउँदैन,’ उनले भने, ‘संविधान र कानुन विपरीत काम भएका छन् भने सरकारले ठीक ठाउँमा ल्याउँछ । यो सरकारको सम्माननीय प्रधानमन्त्रीको प्रतिवद्धता हो ।’

उपनेता नेम्बाङले संसदलाई शसक्त र प्रभावकारी बनाउने तथा पारदर्शिता र जवाफदेहीतालाई व्यवहारमा स्थापित गर्नका लागि आवश्यक भूमिका खेल्न तयार रहेको बताए । उनले निरंकुशता कुनै पनि नाममा सैह्य नहुने भन्दै त्यसविरुद्ध एकजुट हुन पनि आह्वान गरे ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: