सरकारले भ्रम छर्नबाहेक केही गर्न सकेन : सभापति देउवा « Nagarik Khabar

सरकारले भ्रम छर्नबाहेक केही गर्न सकेन : सभापति देउवा



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुहिरोमा हराएको कागको नियतिबाट बाहिर निस्केर सही मार्गमा अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।

सोमबार संघीय संसदको बजेट अधिवेशनको पहिलो बैठकमा शुभकामना मन्तव्य राख्दै कांग्रेस संसदीय दलका नेता समेत रहेका देउवाले संविधानको मार्गदर्शन र आफुले गरेको प्रतिवद्धताअनुसार काम गरेर देखाउन सुझाव दिए । विकास निर्माणभन्दा पनि शक्ति केन्द्रिकृत गर्ने गलत अभ्यासमा प्रधानमन्त्री लागेको आरोप उनको छ ।

सभापति देउवाले संविधानविपरित संवैधानिक अंगका अधिकार केन्द्रिकृत गर्ने प्रधानमन्त्रीको प्रयास सरकारकै लागि प्रत्युत्पादक हुने चेतावनी दिए । उनले संवैधानिक मूल्य मान्यताविपरीत सबै अधिकार आफुमा केन्द्रित गरेर मुलुकको विकास गर्न सक्छु भन्ने भ्रमबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गरे । उन भने, ‘प्रधानमन्त्रीमा अधिकार केन्द्रित गर्न राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरणलगायतका कार्यालय प्रधानमन्त्री कार्यालयमा ल्याउने कार्य संघीयताको मर्म र भावना विपरीत छ ।’ राष्ट्रिय सुरक्षा परिषदलाई निर्णय प्रक्रियाबाट अलग पारेर सेना परिचालनको अधिकार सम्पूर्ण रुपमा प्रधानमन्त्रीमा केन्द्रित गरेर, सबै खाले महत्त्वपूर्ण विकास निर्माणका लागि स्थापित कार्यालय सरकारी निकायबाट खोसेर प्रधानमन्त्रीको नेतृत्वमा निर्देशक समितिको मातहतमा ल्याउनु लोकतन्त्रको मूल्यमान्यताविपरीत भएको देउवाको दाबी छ ।

सभापति देउवाले बालुवाटारको सरकारीे जग्गा भूमाफियाको कब्जामा पुग्न लागेको तथ्य सार्वजनिक हुँदा पनि सरकार ढाकछोप गर्न लागिरहेको आरोप लगाए । उनले गल्ती, कमिकमजोरी सुधार गरेर अघि बढ्ने संकल्प गर्नुको सट्टा संविधानले स्थापित गरेको संघीय, लोकतान्त्रिक, गणतन्त्र र समावेशिताका संरचनालाई भत्काउने तर्फ सरकारको क्रियाकलाप केन्द्रित भए त्यसको पार्टीले सशक्त प्रतिवाद गर्ने चेतावनी दिए ।

दिनानुदिन ठूल–ठूला भ्रष्टाचारका काण्ड सुनेर नागरिक निराश बनेको टिप्पणी गरे । उनले सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नसकेको आरोप समेत लगाए ।

विगतका सरकारले सम्पन्न गरेका योजनाहरु उद्घाटन गरेर आफैँले सम्पन्न गरेको हुँ भनी झूठ प्रचार गर्नबाहेक सरकारले उल्लेखनीय काम गर्न नसकेको टिप्पणी सभापति देउवाले गरे । विदेशी अनुदानको स्थिति निराशाजनक, वैदेशिक व्यापार घाटा र मूल्यवृद्धिले सिंगो मुलुककै अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको भन्दै उनले तामझाम र प्रचार गरेर भ्रम छर्ने बाहेक सरकारले कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न नसकेको जिकिर गरे ।

‘विगतमा मेरो नेतृत्वमा रहेको सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम आफैँले गरेको हुँ भनी तामझामका साथ प्रचार गरेर भ्रम छर्ने बाहेक यो कार्यमा अरु केही सफलता सरकारले प्राप्त गर्न सकेको छैन ।’ उनले भने, ‘स्पाइनल इन्जुरी, क्यान्सर, मुटु र मृगौलासम्बन्धी रोगबाट पीडित अशक्त बिरामीलाई जीविकोपार्जनको लागि मासिक पाँच हजार भत्ता दिने मेरो नेतृत्वमा रहेको सरकारको निर्णयलाई यो सरकारले खारेज गर्यो ।’

चिकित्सा शिक्षा सुधारका लागि कांग्रेस नेतृत्वको सरकारले गरेको प्रयास र प्रधानमन्त्री स्वयंको सार्वजनिक प्रतिवद्धताविपरीत चिकित्सा शिक्षा विधेयक जबरर्जस्ती पारित गर्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्टा भएको सभापपति देउवाको दाबी छ ।

यस्तै, उनले बारा, पर्सा, रौतहट, धनुषा लगायत जिल्लामा हावाहुरीको प्रकोपबाट प्रभावितलाई राहत र पुनस्र्थापनाको काम प्रभावकारी ढंगले हुन नसकेको भन्दै तत्काल राहत र पुनस्र्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: