संस्कृतिविद सत्यमोहन जोशीको जन्मशताब्दी वर्षभर मनाइने « Nagarik Khabar

संस्कृतिविद सत्यमोहन जोशीको जन्मशताब्दी वर्षभर मनाइने



ललितपुर । ललितपुर महानगरपालिकाले वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको जन्मशताब्दी (एक सय वर्षको जन्मदिन) वर्षभर नै विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउने भएको छ ।

जोशीलाई नगर परिक्रमा, गोसाइँकुण्ड दर्शन गराउनेसँगै नगरभित्र विभिन्न प्रतियोगिता र प्रदर्शनीलगायतका कार्यक्रम गरेर भब्यरुपमा मनाउन लागिएको छ ।

जन्मशताब्दीमा आयोजना हुने कार्यक्रमबारे जानकारी दिन सोमबार पत्रकार सम्मेलनमा नगर प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाले नगरभित्र उनको नामको पार्क निर्माण गर्ने र महानगरपालिकाभित्रको कुनै एक सडकको नाम ‘सत्यमोहन जोशी मार्ग’ नामकरण गरिने बताए ।

प्रमुख महर्जनले वर्षभर नै विभिन्न कार्यक्रम गरेर भव्यरुपमा जोशीको जन्मशताब्दी मनाउन लागिएको बताए । उनका अनुसार जोशीलाई नगर परिक्रमासँगै रक्तदान, नगरभित्रका १०० वर्ष पूरा गरेका नागरिकलाई सम्मान गर्ने कार्यक्रम छ । सर्वोच्च शिखर सगरमाथाको उनको तस्बीर अङ्कित ब्यानर फहराइने जनाइएको छ । महानगरपालिकाअन्तर्गतका कार्यालय वैशाख ३० गते बिदा गरिने छ ।

प्रमुख महर्जनले भने, ‘उहाँले लेख्नुभएका लेख रचनाको सङ्कलनसँगै उहाँसम्बन्धी सामग्री पाठ्यपुस्तकमा राख्न पहल गरिनेछ ।’ महानगरपालिकाका उपप्रमुख गीता सत्यालले जोशी देशकै गहना भए पनि यहीँ जन्मे हुर्किएकाले महानगरपालिकाले सम्मान गरेको बताए । जोशी नेपालमा मात्रै नभएर भारत, चीनलगायतका देशमा चर्चित रहनुभएको प्रमुख महर्जनका बताउँदै महर्जनले भने, ‘अन्तर्राष्ट्रियस्तरसम्मै चर्चा कमाउनुभएका उहाँको सम्मानमा नेपाल सरकारले पनि कार्यक्रम आयोजना गर्न सक्छ ।’

संस्कृतिविद् जोशीको बैशाख ३० गतेदेखि ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गर्दै छन् । ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले शताब्दी पुरुष जोशीको जन्मशताब्दी मनाउन १११ सदस्यीय समिति गठन गरेको थियो । समितिमा राष्ट्रियसभाका संसद्, प्रतिनिधिसभाका संसद्लगायतका, स्थानीय तहका जनप्रतिनिधि, छिमेकी नगरपालिकाका प्रमुखलगायतको सहभागिता छ ।

महानगरपालिकाले जोशीको जन्मशताब्दीको अवसरमा वर्षभर नै सांस्कृतिक महोत्सव, खेलकूद प्रतियोगिता, कला प्रदर्शनीलगायतका कार्यक्रम गर्ने भएको छ । महानगरपालिकाले गत वर्ष उनलाई सवारी साधन, मोबाइल फोन र सुरक्षागार्डलगायतको सेवा उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: