राष्ट्रपति सी नेपाल भ्रमण गर्न आतुर « Nagarik Khabar

राष्ट्रपति सी नेपाल भ्रमण गर्न आतुर



काठमाडौं । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ग्रेट हल अफ पिपुल्समा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग दुई पक्षीय भेटवार्ता गरेकी छन् । सो भेटवार्तामा राष्ट्रपति भण्डारीले सीलाई नेपाल भ्रमणको औपचारिक निम्तोसमेत दिएकी छन् ।
दुई समकक्षीको भेटले राष्ट्रपति सीको नेपाल भ्रमण गर्ने वातावरण निर्माण भएको मूल्यांकन गरिएको छ । अघिल्लो कार्यकालमा सीले दक्षिण एसियाका देशहरूमध्ये भुटान र नेपालबाहेकका सबै देश भ्रमण गरेका थिए । यसपटक सी सकारात्मक देखिएको बताइएको छ ।

सीले आफूलाई सुन्दर देश नेपाल भ्रमण गर्ने व्यग्र इच्छा रहेको बताएका थिए । ‘सुन्दर देश नेपाल भ्रमणलाई मैले निकै महत्वका साथ हेरेको छु । उपयुक्त समयमा म नेपाल भ्रमण गर्नेछु,’ उनले भने । उनले नेपालले एक चीन नीतिलाई समर्थन गरेकोमा राष्ट्रपति भण्डारीलाई धन्यवादसमेत दिएका थिए ।
दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै आपसी हितको विषयमा छलफल भएको चीनस्थित नेपाली राजदूतावासले जनाएको छ । राष्ट्रपति भण्डारीलाई राजकीय सम्मानका साथ स्वागत गरिएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले सीलाई दोस्रो बेल्ड एन्ड रोड फोरम भव्य सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै ट्रान्स हिमालयन मल्टी डाइमेन्स कनेक्टिभिटी नेटवर्कमार्फत क्रस बोर्डर रेल्वे निर्माणमा चीनले प्राथमिकता दिन पुनः आग्रह गरेकी थिइन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: