‘प्लेअफ’तर्फ अघि बढ्दै हैदराबाद « Nagarik Khabar

‘प्लेअफ’तर्फ अघि बढ्दै हैदराबाद



हैदराबाद । डेभिड वार्नरको उत्कृष्ट ब्याटिङ प्रदर्शनमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा महत्वपूर्ण जित हात पारेको छ । सोमबार भएको खेलमा हैदरावादले किङ्स इलाभेन पञ्जावलाई ४५ रनले पराजित ग¥यो ।

यो जितसँगै हैदरावादले प्लेअफ चरणको सम्भावना बलियो बनाएको छ । आईपीएलको समूहगत चरणको अन्तिम दुई चरणका खेल मात्रै बाँकी रहँदा हैदरावाद १२ खेलबाट १२ अंकसहित अंकतालिकाको चौथो स्थानमा छ ।

पराजयले १२ खेलबाट १० अंककासाथ छैटौ स्थानमा पुगेको पञ्जावलाई भने प्लेअफ चरणको यात्रा मुस्किल बन्दै गएको छ । पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय १२ रनको योगफल तय गरेको थियो । जवाफमा आएको पञ्जाव निर्धारित ओभरमा आठ विकेट गुमाउँदै एक सय ६७ रनमै रोकिएको थियो ।

हैदरावादका लागि प्रारम्भिक ब्याट्सम्यान वार्नरले ५६ बलमा ८१ रनको योगदान दिए । उनले आफ्नो पारीमा दुई छक्का र सात चौका प्रहार गरेका थिए । यस्तै मनिश पाण्डेले ३६, रिद्धीमान शाहले २८, मोहम्मद दाबिले २० र कप्तान केन विलियम्सनले १४ रन जोडे ।

पञ्जावका लागि केएल राहुलले ५६ बलमा ७९ रन प्रहार गरे पनि टोलीको जित सम्भव भएन । उनले आफ्नो पारीमा पाँच छक्का र चार चौका प्रहार गरेका थिए । मयङ्क अग्रवालले २७ र निकोलास पुरनले २१ रन जोडे । पञ्जावलाई लक्ष्यसम्म पुग्नबाट रोक्न हैदरावादका अलिल अहमेद र रासिद खानले तीन÷तीन विकेट लिएका थिए । पञ्जावका लागि भने मोहम्मद सामी र रभिचन्द्रन आश्विनले दुई÷दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: