आवास कार्यक्रम : २४ करोड सकियो, गरीबको पीडा उस्तै « Nagarik Khabar

आवास कार्यक्रम : २४ करोड सकियो, गरीबको पीडा उस्तै



जनता आवास कार्यक्रमले बाँके र बर्दियामा लक्षितवर्गका लागि घर निर्माण कार्यक्रमको थालनी गरेको थियो । विसं २०७३ मा जनता आवासले काम थालेको दुई वर्ष पूरा भइसकेको छ । यसअवधिमा बाँकेका विभिन्न स्थानमा केही घर पनि निर्माण भएका छन् ।

लक्षितवर्गका नाममा जनता आवासले आफनो दातृ निकायबाट अर्बौँ बजेट अनुदान ल्याएर थोरै लगानीमा बनाएका घर बस्न योग्य भने देखिँदैनन् । कतिपय लक्षितवर्गका घर अहिले पनि निर्माण हुनसकेका छैनन् । निर्माण भएका पनि प्रयोग गर्न सकिने अवस्थामा देखिँदैनन् । कतिपय लक्षितवर्गले अनुदानको पाउनुपर्ने रकम नपाउँदा समस्या झेल्नुपरेको छ ।

कार्यक्रमअन्तर्गत घर निर्माण रोकिएपछि बाँकेको इन्द्रपुरमा बसोबास गर्दै आएका कुछबधिया र बेलासपुरमा रहेका चिडिमार समुदायका गरीब तथा विपन्न परिवार समस्यामा परेका छन् । लोपोन्मुख कुछबधिया सुमदायले जाँतो, सिलौटो, सनपाटको डोरी बेचेर जीविकोपार्जन गर्दै आएका छन् ।

बेलासपुरमा रहेको चिडिमार बस्तीका कतिपय विपन्न तथा लोपोन्मुख परिवारको सरकारी घरमा बस्ने सपना अहिले पनि पूरा हुनसकेको छैन । बेलासपुरको चिडिमार बस्तीमा सरकारले जनता आवास कार्यक्रममार्फत घर बनाउने भने पनि अहिलेसम्म घर बन्न नसकेको स्थानीयको भनाइ छ । गत वर्ष घर निर्माणका लागि काम शुरू गरिएको थियो ।

तर, अन्तिम किस्ता रकम नपाउँदा उजागर रैदासले आफ्नो घरको छानो छाउनसमेत नसकेको बताउनुभएको छ । रैदासजस्तै बाँके र बर्दियामा धेरै विपन्न परिवार जनता आवासकै लापरवाही र उदासीनताका कारण बिचल्लीमा छन् । घर निर्माणको काम अधुरो हुँदा चिसो मौसममा खुला आकाशमुनि र गर्मीमा तातो घाममुनि दिनरात काट्नुको विकल्प नभएको रैदासको भनाइ छ ।

“छाना छाउने कर्कटपाता किन्न पैसा छैन”, उहाँले भन्नुभयो, “यस्तो गर्मी छ खुला आकाशमुनि कसरी ज्यान बचाउनु ।” उहाँजस्ता चिडिमार बस्तीका धेरै परिवारको सरकारी घरमा बस्ने आश मरेको छ । महादी चिडिमारको समस्या पनि उस्तै छ । उहाँलाई पनि बिहानबेलुकाको छाक टार्न मुस्किल छ । “ज्याला मजदुरी गरेर कमाएको पैसाले परिवार पाल्नु कि घर बनाउनु रु” उहाँले दुखेसो पोख्नुभयो ।

जनता आवास कार्यक्रमअन्तर्गत सरकारले बनाइदिने भनेको पक्की घरमा बस्ने सपना देखेका बाँके र बर्दियाका विपन्न, दलित, लोपोन्मुख र अति सीमान्तकृत समुदायको घर निर्माणको काम जनता आवासकै कारण अलपत्र परेका छन् । लक्षित वर्गकै नाममा वा घर निर्माण गर्ने लक्ष्यका साथ जनता आवासले बाँके बर्दियामा रु २४ करोड बढी रकम खर्च गरिसकेको छ ।

उक्त रकम कहाँ, कसरी, किन र कसका लागि खर्च भयो, यसको कुनै लेखाजोखा छैन । यद्यपि ती घर निर्माण गरेवापत रु २४ करोड रकम खर्च भएको शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना एकाइ कार्यालय नेपालगञ्जका प्रमुख होमनाथ भुसाल बताउनुहुन्छ । उहाँका अनुसार गत आर्थिक वर्ष २०७४र७५ मा दुवै जिल्लामा थप एक÷एक हजार घर निर्माण गर्ने भनिएको थियो ।

तर, बजेट निकासा नै नभएका कारण प्रक्रिया अघि बढ्न सकेन । गरीब परिवारलाई घर दिने उद्देश्यले थालिएको जनता आवास कार्यक्रम अलपत्र परेको छ । सङ्घीय सरकारले थालेको कार्यक्रम प्रदेशमा हस्तान्तरण भएपछि २०७५ साउनदेखि जनता आवासको काम ठप्प छ । आर्थिक वर्ष २०७३र७४ मा बाँकेमा एक हजार २० र बर्दियामा एक हजार ३० घर निर्माण गर्नुपर्ने थियो ।

जसमध्ये गत आर्थिक वर्ष २०७४र७५ मा बाँकेमा ४०० र बर्दियामा ८०० घर जेनतेन निर्माण भएका छन् । तर, यी सबै घर बस्न योग्य भने देखिँदैनन् । कुछबधिया समुदायका अगुवा पटवारी कुछबधियाका अनुसार इन्द्रपुरको कुधबधिया टोलमा ४६ घर छन् । तीमध्ये १६ परिवारले जनता आवास कार्यक्रममार्फत घर बनाएका छन् । तर, ३० परिवारले अझै घर बनाउन सहयोग पाएका छैनन् ।

सरकारले जनता आवास कार्यक्रममार्फत तराईका विपन्न मुसहर, चमार, मुस्लिम तथा पहाडमा दलित समुदायका दमाई, कामी, सार्कीका साथै लोपोन्मुख, सीमान्तकृत कुसुन्डा, राउटेलगायतका जातिलाई सुरक्षित घर बनाउन तीन किस्तामा गरी रु साढे ३ लाख अनुदान दिँदै आएको भुसालको भनाइ छ । जनता आवासको सहयोगमा बन्ने घर कम्तीमा दुई कोठाको, भूकम्पप्रतिरोधी हुनुपर्ने प्रावधान छ ।

दमकलमा पानी अभाव

यहाँ आगलागी भयो भने तत्कालै निभाउन सकिने स्थिति छैन । नेपालगञ्ज उपमहानगरपालिकाको आफ्नै दमकल छ । तर, पानी भर्नका लागि नजिकै पर्याप्त धारा र खोला छैनन् । नेपालगञ्ज नजिकका वन, घर, उद्योग, कारखानामा आगलागी हुँदा पानी नभएर दमकलले आलोचना खेप्नु परिरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२१ मा रहेको शारदा कपास उद्योगमा सोमबार बिहान आगलागी भएको छ । उद्योग पूर्णरूपमा जल्यो । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरी निरीक्षक नारायण डाँगी बताउनुहुन्छ । उहाँका अनुसार आगलागी भएको जानकारी आउनासाथ प्रहरी घटनास्थल पुगेको हो । तर, आगलागी नियन्त्रण गर्न प्रहरीको केही लागेन ।

उपमहानगरपालिकाको दमकललाई पनि खबर गरिएको थियो । साइरन बजाउँदै दमकल आगलागीस्थल पुग्यो तर थोरै पानी बोकेर । प्रहरी निरीक्षक डाँगीले भन्नुभयो, “दमकलमा छिट्टै पानी सकिँदो रहेछ, थोरै पानी रहेछ, जसले गर्दा सानो आगलागी नियन्त्रणमा पनि समस्या देखियो ।”

दमकल अत्यावश्यक सवारीसाधन हो । सुक्खायाममा चालक तम्तयार हुँदैनन् । नेपालगञ्जमा चालक खोज्दै हिँड्नुपर्ने बाध्यता छ । दमकलको व्यवस्थापन चुस्त नहुँदा नागरिकले क्षति बढी बेहोर्नुपरेको छ । दमकलमा जनशक्ति मात्रै होइन, आवश्यकताअनुसार पानी भण्डारणको अभाव छ । यसले बाँकेवासीले समयमै आगलागी नियन्त्रण गर्न सक्ने अवस्था छैन ।

प्रहरीसँग दमकललगायतका आगो नियन्त्रणका साधन नहुने हुँदा घटनास्थल पुग्ने प्रहरीले बाल्टिनमा पानी बोकेर हाल्नेभन्दा विकल्प छैन । उनीहरू निरीह बन्दै आगलागी टुलुटुलु हेरिरहेका हुन्छन् । दमकल एउटा मात्रै हुँदा भनेकै समयमा घटनास्थलमा पुग्न सक्ने अवस्था पनि नभएको वारूणयन्त्र कार्यालय बताउँछ ।

शारदा कपास उद्योगमा आगलागीबाट रु एक करोड हाराहारीको कपासमा क्षति पुगेको उद्योगका सञ्चाल नीरज गुप्ताले बताउनुभयो । आगलागी नियन्त्रणका लागि उपमहानगरपालिकाको दमकल पुगे पनि पानी अभावले उक्त दमकल फर्किएको थियो । उपमहानगरपालिकाको दमकलको पानी राख्ने क्षमता तीन हजार ५०० लिटर छ । यसअघि पनि यस्ता घटनामा दमकल समयमा नपुग्ने गुनासा धेरै आउने गरेका थिए । दमकलमा अट्ने क्षमताअनुसारको पानी नहुँदा बढी क्षति हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: