एनआरएनए यूकेको चुनाव आउन पाँच महिना बाँकी : पाँचैजना उपाध्यक्षको अध्यक्षमा उम्मेदवारी « Nagarik Khabar

एनआरएनए यूकेको चुनाव आउन पाँच महिना बाँकी : पाँचैजना उपाध्यक्षको अध्यक्षमा उम्मेदवारी



 

लन्डन । एनआरएनए यूकेको वर्तमान कार्यसमितिका पाँचै जना उपाध्यक्षहरुले आगामी कार्यसमितिको अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।

गत सोमबार २२ अप्रिलका दिन सम्पन्न बैठकमा निर्वाचनको मिति तय गरेपछि उनीहरुले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्न सुरुआत गरेका हुन् । बैठकले आगामी सेप्टेम्बर १४ का दिन निर्वाचन गर्ने र १५ का दिन साधारणसभा गर्ने निर्णय गरेको छ । यद्यपि बैठकले निर्वाचन समिति भने गठन गरिसकेको छैन ।

वर्तमान कार्यसमितिको उपाध्यक्षमा शेर सुनार, पुनम गुरुङ, सुशीला राई, प्रेम गाहा मगर, ललित न्यौपाने र डा. प्रेम आले मगर छन् । डा. आले भने हाल नेपालमा छन् । बाँकी ५ जना उपाध्यक्षले आगामी कार्यसमितिको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पर्याप्त समय दिनसक्ने व्यक्तिले मात्र एनआरएनएको नेतृत्व गर्न सक्छन् भन्ने धेरैको बुझाई छ । सामाजिक संस्थामा स्वंयसेवकको रुपमा काम गर्न पक्कै पनि पर्याप्त समय चाहिन्छ । तर, समय भएरमात्र पुग्दैन ।

उनीहरुमा क्षमता र भिजन पनि आवश्यकता पर्दछ । त्यसमा पनि एनआरएनए जस्तो संस्था हाँक्न थुप्रै चुनौतीको सामना गर्न सक्नु पर्दछ । एनआरएनए यूकेकै कुरा गर्ने हो, संस्थाको जिम्मेवारी दिनप्रतिदिन थपिँदै गएको छ । संस्थाको उद्देश्य पूरा गर्नका लागि आपूmमा कत्तिको क्षमता हुनु पर्छ, त्यो आफैले बुभ्mन जरुरी छ ।

एनआरएनए यूकेका नेतृत्वसँग बेलायतवासी नेपालीहरुको ठूलो अपेक्षा थियो । तर एनआरएनए यूकेले नेपालीहरुको चाहनालाई भने राम्रोसँग सम्बोधन गर्न नसकेको धेरैको टिप्पणी छ । एनआरएनए यूकेको निर्वाचनको मिति आउन अझै ५ महिना बाँकी छ । अहिलेदेखि नै प्रचारप्रचारमा जुट्नु भनेको बेमौसमको बाजा भन्नेहरु पनि कम छैनन् ।

ईच्छा जाहेर गर्नुलाई राम्रो भन्नेहरु पनि छन् । तर, संस्था हाँक्नका लागि सक्षम नेतृत्वको पक्कै खाँचो छ । जेहोस्, आगामी सेप्टेम्बर महिनामा एनआरएनए यूकेले नयाँ नेतृत्व पाउने छ । र, नेतृत्वमा वर्तमान उपाध्यक्षहरुले नेतृत्वको दाबी गर्नुलाई सकारात्मक रुपमा लिनु पर्दछ । तर, उनीहरुको अनुभव, कार्यक्षमता र व्यवहारलाई भने बुझ्नु पर्ने त्यत्तिकै जरुरी देखिन्छ ।

निर्वाचन समिति कहिले गठन हुने हो, सो समितिले कहिले निर्वाचन तालिका सार्वजनिक गर्ने हो, त्यो भने टाढाको कुरा । त्यसमा अरुको पनि नेतृत्व गर्ने चाहना हुन सक्छ । अहिलेसम्म अध्यक्षको उम्मेदवारी दिने घोषणा गरिरहेका वर्तमान उपाध्यक्षहरुसँग बुझ्दा उनीहरुले उम्मेदवारी दिने जानकारी दिएका छन् । संक्षेपमा उनीहरुको चिनारी ।

पुनम गुरुङ : एनआरएनए यूकेको सातौं कार्यसमितिको वर्तमान उपाध्यक्ष हुन् । उनी सातौं कार्यसमितिको निर्वाचनमा सबभन्दा बढी मत ल्याई विजयी भएकी थिइन् । समाजसेवामा समर्पित ठान्ने गुरुङ तमुधिं यूके आमा समूहकी पूर्व अध्यक्षको भूमिकामा रहेर काम गरिसकेकी छन् भने घोताने परिवार यूकेको संस्थापक आमा प्रमुख पनि हुन् । त्यस्तै, उनले विगत ६ वर्षदेखि रेस फर लाईफको संयोजकको भूमिका निभाउँदै क्यान्सर रिसर्चको सहयोग गर्दै आएकी छन् । र, वर्तमान कार्यसमितिको उपाध्यक्षमा रहेर काउन्सिल बैठकको संयोजन गरिसकेकी छन् भने निर्मला पन्तको बलात्कार हत्या प्रकरण तथा महिला अधिकारबारे समेत आवाज उठाउँदै आएकी छन् ।

शेर सुनार : भूतपूर्व गोर्खा सैनिक शेर सुनार नेपाली समुदायमा निकै लोकप्रिय समाजसेवी हुन् । उनी एनआरएनए यूकेको वर्तमान उपाध्यक्ष पनि हुन् । रेस्टुरेन्ट व्यवसायीको रुपमा समेत परिचित सुनार एनआरएनएको स्थापनाकालदेखि नै एनआरएनएसँग सम्बन्धित विभिन्न कामहरुमा आवद्ध हुँदै आएका छन् । सिर्जनशील नेपाली समाज यूकेका संस्थापक अध्यक्ष रहेका सुनार विभिन्न नेपाली संघसस्थाको संस्थापक, सल्लाहकार र आजीवन सदस्यसमेत रहेका छन् । उनी अहिले एनआरएनए यूकेको सदस्यता वितरण अभियानको संयोजकको भूमिकामा रहेर बेलायतका विभिन्न सहरमा पुगेका छन् । उनले एनआरएनए यूकेद्वारा नेपालमा लगानी अवसरबारे आयोजित कार्यक्रमको संयोजन गरेका थिए ।

सुशीला राई : सन् २००७ सालको प्रजातन्त्रका सेनानी शहीद रामप्रसाद राईकी कान्छी नातिनी सुशीला राई एनआरएनए यूकेमा नौलो नाम होइन । उनी मुछेत्र गुरुङको कार्यकालमा एनआरएनए यूके महिला फोरमकी संयोजक र योगकुमार फगामीको कार्यकाल अर्थात् वर्तमान कार्यसमितिकी उपाध्यक्ष हुन् । नेपाली समुदाय बेलायतमा विभिन्न संघसंस्थामा आबद्ध राई किरात राई यायोक्खा यूकेमा रहेर काम गरेकी छन् । अत्यन्तै सरल स्वभावकी राईले एनआरएनए यूकेको विभिन्न कार्यक्रमको संयोजकको रुपमा काम गरिसकेकी छन् ।

प्रेम गाहा मगर : भूतपूर्व गोर्खा सैनिक प्रेम गाहा मगर एनआरएनए यूके वर्तमान कार्यसमितिको उपाध्यक्ष हुन् । आप्mनो १९ महिने कार्यकालमा कार्यसमितिले दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका छन् । कुनै पनि राजनैतिक दलमा आवद्ध नरहेका गाहा मगर युवाहरुका ढुकढुकी पनि हुन् । बक्सिङ्ग खेलमा राष्ट्रिय स्वर्ण पदकसमेत विजेता हुन् गाहा । आप्mनो कार्यकालमा बक्सिङ्ग च्यारिटी कार्यक्रम आयोजना गरी एनआरएनए यूकेमा नयाँ खालको कार्यक्रम गर्न सफल भए ।

ललित न्यौपाने : ललित न्यौपाने एनआरएनए यूकेको वर्तमान उपाध्यक्ष हुन् । १४ वर्षअघि बेलायत छिरेका न्यौपाने एनआरएनए यूके राज्य व्यवस्था विभागका संयोजक हुन् । यसअघि एनआरएनए यूकेको सहकोषाध्यक्ष, बिजनेश विभाग संयोजकको भूमिका रहेर काम गरिसकेका छन् । अत्यन्त मिलनसार न्यौपानेले आगामी कार्यसमितिको नेतृत्व गरेर न्याय दिने सक्ने धेरैको विश्वास छ ।

वर्तमान उपाध्यक्षहरुले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे तापनि उम्मेदवारी कति जनाले दिन्छन्, त्यो हेर्ननै बाँकी छ । सबै उपाध्यक्षहरु अनुभवी र क्षमतावान देखिए तापनि चुन्ने बेलायतवासी नेपालीहरुले हुन् । तर, त्यसका लागि बेलायतवासी नेपालीहरुले एनआरएनए यूकेको सदस्यता लिन पर्दछ । करिब एक लाख नेपाली रहेको अनुमान गरिएको बेलायतमा यसभन्दा अघिको अधिवेशनसम्म आइपुग्दा करिब ३६०० जनाले मात्र सदस्यता लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: