उपेन्द्रलाई कार्यकारी अध्यक्ष मान्न बाबुराम तयार ! « Nagarik Khabar

उपेन्द्रलाई कार्यकारी अध्यक्ष मान्न बाबुराम तयार !



काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालबीच एकता प्रकृया अन्तिम चरणमा पुगको छ । दुई पार्टीका शीर्ष नेताले पार्टी एकताको मोडेलका विषयमा पटक–पटक छलफल गरेका छन् ।

स्रोतका अनुसार अबको केहीदिन भित्रनै पार्टी एकता घोषणा गर्ने तयारी दुई पार्टीको छ । उपेन्द्रले पार्टी एकताको अन्तिम तयारी गर्ने जिम्मेवारी शहरी विकास मन्त्री समेत रहेका नेता मोहम्मद इस्तीयाक राईलाई दिएका छन् भने बाबुरामले आफ्ना विश्वास पात्र गङ्गा श्रेष्ठलाई जिम्मेवारी दिएका छन् ।

एकता घोषणा छिट्टै गर्ने गरी दुई पार्टीले नेतृत्व र साङ्गठनिक संरचना टुङ्गो लगाएको सङ्घीय समाजवादी फोरमका एक नेताले दाबी गरे । फोरमका युवा नेता समेत रहेका अध्यक्ष यादवका स्वकीय सचिव महेश चौरसीयाले पार्टी एकताको विषयमा छलफल चलिरहे पनि निर्णयका विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । दुवै पार्टीले घोषणा गर्ने दिन मात्र निर्णय सार्वजनिक गर्ने गरी छलफल गरिरहेका छन् ।

छलफलमा सहभागी नेताका अनुसार नेतृत्वका विषयमा यादव र भट्टराई दुवैले एकअर्कालाई सम्मान हुने गरी निर्णय लिएका छन् । पार्टी एकताका लागि छलफलमा जुटेका दुवै दलका दोस्रो तहका नेताले एकताको खाका यादव र भट्टराईलाई बुझाएका छन् ।

उपेन्द्रलाई कार्यकारी अध्यक्ष मान्न भट्टराई तयार

दुई वर्षअघि नेतृत्वमा कुरा नमिलेपछि रोकिएको फोरम र नयाँ शक्तिबीचको एकता यादवलाई कार्यकारी अध्यक्ष मान्न भट्टराई तयार भएलगत्तै निष्कर्षमा पुगेको स्रोतको दाबी छ । यादव कार्यकारी अध्यक्ष बन्ने र भट्टराईलाई सर्वोच्च नेता वा वरिष्ठ नेता मान्ने गरी छलफल चलिरहेको छ । अशोक राई भने तेस्रो वरियतामा रहने छन् । दुई अध्यक्ष रहने प्रणालीका विषयमा समेत छलफल चलिरहेको छ । नयाँ शक्तिले भने कार्यकारी अध्यक्ष यादव भए पनि सेरेमोनियल अध्यक्ष भट्टराई हुनुपर्ने अडान राखेको छ । चुनाव चिह्न, झन्डा र पार्टीको नामका विषयमा समेत दुई पार्टी सहमत भैसकेको स्रोतको दाबी छ ।

दुई पार्टीबीच नयाँ समाजवादी पार्टी वा नयाँ समाजवादी फोरम पार्टी नेपालमध्ये एक नाम राख्ने विषयमा छलफल भएको छ । तर केहीले तराई मधेसमा फोरमको जनाधार बलियो भएकाले पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्न नहुने तर्क गरिरहेका छन् । नयाँ शक्तिको तर्फबाट वार्तामा सहभागी नेताले पनि चुनाव चिह्नका विषयमा सोच्न सकिने तर नाममा भने आफूहरूको अस्तित्व झल्कने गरी नाम खोज्नुपर्ने प्रस्ताव गरेका छन् ।

फोरम–राजपा एकता टर्‍यो

नयाँ शक्तिसँगको एकता प्रक्रिया अगाडि बढेपछि सङ्घीय समाजवादी फोरम र राष्टि«य जनता पार्टी (राजपा)बीचको एकता तत्काल नहुने भएको छ । पार्टी एकताका लागि सरकार छाड्नुपर्ने सर्त राजपाले अघि सारेपछि फोरमले त्यसलाई अस्वीकार गरेको छ । फोरमका एक नेताले भने, ‘नेता धेरै तर जनाधार कम भएको पार्टी राजपासँग कुरा मिल्दैन । अध्यक्षमा पनि उपेन्द्र यादवको विकल्प खोज्न हामी सक्दैनौँ । त्यसैले अहिले राजपासँगको एकता हुँदैन ।’

संसदीय चुनावमा राजपाभन्दा फोरम तराईमा बलियो भएपछि तराई मधेसमा दुई पार्टीबीच एकता हुनुपर्ने दबाब थियो । जनस्तरबाटै एकताका लागि दबाब आएपछि औपचारिक रूपमा पत्राचार गरेर एकताका लागि आह्वानसम्म भयो । तर एक अर्काविरुद्ध सर्त राखेर गरिएका पत्राचारले खासै प्रगति हासिल गर्न सकेन । त्यसैले अहिले दुवै दल पार्टी एकतासम्म तत्काल पुग्न नसकिने निष्कर्षमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: