संशोधन विधेयकप्रति मानवअधिकार आयोगको आपत्ति (भिडियोसहित) « Nagarik Khabar

संशोधन विधेयकप्रति मानवअधिकार आयोगको आपत्ति (भिडियोसहित)



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकारले ल्याएको ‘मानव अधिकार आयोगको ऐनलाई संशोधन गर्न बनेको विधेयक’प्रति असन्तुष्टि जनाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगले दिएको सुझावलाई नसमेटी विधेयक सरकारले संसदमा दर्ता गराएमा असन्तुष्टि जनाएका हुन् । उनले सो विधेयकको विरोधमा आयोगले जिन्दावाद र मुर्दावादको नारा नलगाए पनि त्यसमा आयोगको सुझाव समेट्न सरकार तयार हुनुपर्ने बताए ।

मंगलबार संघीय संसदको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा अध्यक्ष शर्माले सरकारले राष्ट्रिय मानव अधिकार आयोगलाई स्वतन्त्र र स्वायत्त संवैधानिक निकायमा रुपमा राख्न नचाहेको दावी गरे । उनले संविधानतः आयोग सरकारप्रति जवाफदेही नभएको उल्लेख गर्दैै त्यसै अनुसारको व्यवहार गर्न सरकारको ध्यानाकर्षण गरे ।

आयोगले संक्रमणकालीन न्याय निरुपणका लागि तत्काल संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष शर्माले संक्रमणकालका १७ हजारभन्दा बढी पीडितलाई न्याय दिने काममा गम्भीर बन्न सरकारलाई पुनः आग्रह गरे ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले संक्रमणकालीन न्याय निरुपणका लागि सरकारले राष्ट्रिय सहमति जुटाउने प्रयास गरिरहेको बताए । संक्रमणकालीन न्याय निरुपणका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको पदाधिकारी नियुक्त गरी संक्रमणकालीन न्यायको कामलाई पूरा गर्न सरकार प्रतिवद्ध रहेको मन्त्री ढकालको भनाइ छ ।

मन्त्री ढकालले संक्रमणकालीन न्याय निरुपणको मुद्दालाई टुंगो लगाउने गरी सरकारले सोसम्बन्धी विधेयक ल्याएको प्रष्ट्याए।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: