विद्युत चोर्ने उद्योगबाट चार करोडभन्दा बढी जरिवाना असुली « Nagarik Khabar

विद्युत चोर्ने उद्योगबाट चार करोडभन्दा बढी जरिवाना असुली



वीरगञ्ज । बिद्युत् चोरी गर्ने वीरगञ्जका औद्योगिक प्रतिष्ठानहरूबाट नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले चार करोड २२ लाख २८ हजार जरिवाना असुल गरेको छ ।

विगत १० वर्षदेखि यस क्षेत्रका ५२ वटा उद्योग कलकारखाना तथा व्यापारीक प्रतिष्ठानले विद्युत् मिटरमा डाटा डाउनलोड गरी विद्युत् चोरी गर्दै आएको वितरण केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिए । उनीहरूबाट कार्वाही स्वरुप नेपाल विद्युत् वितरण नियमावली २०६९ बमोजिम सो रकम जरिवाना उठाइएको हो । वितरण केन्द्रले बिद्युत् चोरी गर्ने व्यापारीक प्रतिष्ठानबारे भने केही खुलाएको छैन ।

यसैगरी प्राधिकरणले आर्थिक वर्ष २०७५/०७६ को साउनदेखि चैत मसान्तसम्ममा कालोसूचीमा रहेका ७५ ग्राहकबाट पनि ३९ लाख ९४ हजार जरिवाना रकम असुल गरेको जनाएको छ । साथै विद्युत् चोरी गर्ने ८३ ग्राहकबाट २६ लाख ५० हजार ९४० जरिवानाबापत रकम असुल गरेको पनि प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: