काम सिक्दै गर्दा हात गुमाएका प्रदीप साथ खोज्दै भन्छन्– मैले हात गुमाएँ, आत्मविश्वास होइन « Nagarik Khabar

काम सिक्दै गर्दा हात गुमाएका प्रदीप साथ खोज्दै भन्छन्– मैले हात गुमाएँ, आत्मविश्वास होइन



कपिलवस्तु । कपिलवस्तुका १७ वर्षीय प्रदीप पौडेलले कम्पनीमा काम गर्दा गुमाएको हातका कारण यति बेला जीवनयापनकै निम्ति छट्पटाइरहेका छन् । वाणगङ्गा नगरपालिका – ४ जीतपुरका पौडेलले गत फागुन १ गते करेण्ट लागेर हात गुमाउनु भयो ।

दश महिनादेखि नगरपालिकाको बैरियामा रहेको होण्डा सोरुममा काम सिक्दै आउनुभएका पौडेलले काम गर्ने क्रममा करेण्ट लागेपछि अवस्था यस्तो भएको हो । भाँच्चिएको दाहिने हात र टाउकामा समेत गहिरो चोट बोकेर हिँडिरहनुभएका पौडेलले आँखाभरि आँशु निकाल्दै त्यो दिन आफ्ना लागि कालो दिन भएको बताउनुभयो ।

आफ्नो भविष्य सम्झिँदै पौडेलले भन्नुभयो, “अब अरु आशा छैन, सबैले सहयोग गरिदिनुभयो भने कृत्रिम हात राखेर भए पनिधेरै मेहनत गरेर पढ्ने छु” ।
कुराकानीकै क्रममा उहाँले थप्नुभयो, “ मेरो एउटा हात नभएर के भो, अर्को हात त केही भएको छैन नि, हात गुमे पनि मेरो आत्मविश्वास र सपना गुमेको छैन ।”

यता पौडेलकी आमा रीताले १७ वर्षको कलिलो उमेरमै दायाँ हात गुमाएका छोराको भविष्य के होला भन्दै उपचारमा रु आठ लाख बढी खर्च भइसके पनि कम्पनीले उपचारको दायित्व ग्रहण नसकेको गुनासो पोख्नुभयो । “आठ लाखभन्दा बढी खर्च गरियो, अझै कति लाग्ने हो थाहा छैन, चार लाख त पटक पटक मागेपछि बल्ल दिएँ, अब खर्च ज्ुटाउने माध्यम छैन”, रीताले रासससँग कुरा गर्दै भन्नुभयो ।

त्यस्तै पौडेलका बुबा पदमले लामो सास तान्दै आफ्नो जेठा छोरा प्रदीप बाँच्ने आश मरिसकेको थियो भन्नुभयो । “ज्यानको माया मारेर काम ग¥यो तर मालिकले खासै वास्ता नगर्दा दुःख लागेको छ”, उहाँले भन्नुभयो “करीब डेढ महिना काठमाडौँ अस्पतालमा आइसियुमा राख्यौँ, अस्पतालमा टाउको, घाँटीलगायतका सात वटा अप्रेशन भयो ।”

हातै काटेर फालेका छोराको कुरुवा बस्नुभएका पदमले सोरुमबाट खासै वास्ता नगरेको भनी गुनासो गर्नुभयो । जीवनको आरोहअवरोह पार गरेर सन्तानको भविष्य हेरेर बसेका आफूहरु छोराले हात गुमाएपछि आफ्ना सबै इच्छा हराएको भन्दै उहाँले दुखेसो पोख्नुभयो ।

आर्थिक अवस्था कमजोर भएकै कारण बालबालिका सानै उमेरबाट विभिन्न कठिन श्रम गर्नसमेत बाध्य हुन्छन् जसका कारण उनीहरुले सानै उमेरमा शारीरिक अपाङ्गता मात्र नभई ज्यानसमेत गुमाउनुपरेको छ । बालश्रमका विरुद्धमा थुप्रै अभियान र नियम कानून बने पनि यी सबै नियम व्यवहारमा लागु भने पूर्ण रुपमा हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: