युवा क्रिकेटर, जसले एसइई त्यागेर देशलाई उपाधि दिलाए (भिडियोसहित) « Nagarik Khabar

युवा क्रिकेटर, जसले एसइई त्यागेर देशलाई उपाधि दिलाए (भिडियोसहित)



काठमाडौं । एसइई परीक्षालाई नेपाली विद्यार्थीहरूका लागि भविष्य खोल्ने बाटो मानिन्छ । एसइई परीक्षामा प्राप्त नतिजाअनुसार नै उनीहरुको भविष्य तय हुने गर्छ ।

२०७५ को एसइईमा देशभरिका चार लाख ७५ हजार तीनजना विद्यार्थीले परीक्षा दिए, आफ्नो भविष्यको बाटो खोल्ने सपनाका साथ । तर, त्यही परीक्षाका बेला सप्तरीका रोहन दूधराज बिके र प्रशान्त सिंहका अघि दुई बाटो आयो । उनीहरुले कि भविष्यको ढोका खोल्ने एसइई परीक्षामा सहभागी हुने या देशको प्रतिष्ठाका लागि एसइई नै त्याग गर्ने ।

राजविराजको मेक्सल बोर्डिङ स्कुलका रोहन र राजविराजकै दुर्गा माध्यमिक विद्यालयका प्रशान्तले यी दुई बाटोमध्ये देशको प्रतिष्ठा रोजे । झण्डै पाँच लाख सहपाठीहरु एसइई दिइरहँदा उनीहरु राष्ट्रिय टोलीबाट एसियाली क्रिकेट काउन्सिल (एसिसी) यु–१६ इस्टर्न रिजन क्रिकेटको राष्ट्रिय टोलीको छनोटका लागि काठमाडौं आए । उनीहरु छनौट भए । र, प्रतियोगिताका लागि थाइल्याण्ड पुगे ।

रोहन र प्रशान्तलाई प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न अन्य खेलाडीभन्दा थप दबाब थियो । किनकि, उनीहरु दशौं वर्षको मेहनेतपछि आएको एसइई त्यागेर राष्ट्रका लागि खेल्न गएका थिए । त्यसैले उनीहरुले प्रतियोगितामा जिम्मेवारीअनुसार सशक्त प्रदर्शन गरे । नेपालले यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जित्यो । र, एसइई छाडेर खेल्न गएका रोहन र प्रशान्त देशका लागि उपाधि लिएर फर्किए ।

प्रश्नपत्र आउट हुँदा एसइईबाट बञ्चित

यी दुई खेलाडीको कथा साँच्चिकै रोचक छ । एसिसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता हुने भए पनि सो प्रतियोगिताका लागि खेलाडी छनोट गर्न कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा प्रतियोगिता आयोजना गरिएको थियो । त्यसको केही समयअघि एसइईको परीक्षा थियो ।

परीक्षा सहभागी हुनेहरूलाई समेत सहज बनोस् भनेर त्यसपछि मात्रै छनोट प्रतियोगिताको मिति तय गरिएको थियो । तर, चारवटा विषयको परीक्षा बाँकी हुँदा प्रदेश नम्बर २ मा प्रश्नपत्र आउट भयो । त्यसपछि बाँकी परीक्षा रोकिए । फेरि परीक्षाको मिति तय हुँदा रोहन र प्रशान्त छनोट खेलका लागि काठमाडौं आइपुगेका थिए ।

‘प्रश्न पत्र पहिले नै आउट नभएको भए हामी परीक्षा दिएर छनोट प्रतियोगिता खेल्न जान भ्याउथ्यौं’, रोहन भन्छन्, ‘तर, प्रश्न पत्र आउट भएपछि हाम्रो समय नै मिलेन ।’

पीडामा मल्हम उपाधि

परीक्षा छाड्नु पर्दा रोहन र प्रशान्तलाई दुःख लागेको थियो । उनीहरुका अभिभावक समेत दुःखी थिए । तर, थाइल्याण्डबाट उपाधि जितेर फर्कँदा परीक्षा छाड्दा पीडा हटेको उनीहरुको अनुभव छ ।

‘हामीले आफ्नो परीक्षा होइन देशको प्रतिष्ठा रोज्यौँ । परीक्षा नै छाडेर छनोट प्रतियोगिता खेल्न हामी यहाँ आयौं । टोलीमा पनि पर्न सफल भयौं,’ रोहनले भने, ‘अहिले उपाधि जितेर फर्कँदा निक्कै खुसी लागेको छ ।’

प्रशान्त पनि आफ्ना लागि परीक्षा छाड्नु पर्दाको पीडा उपाधिले कम गरेको अनुभव सुनाउँछन् । उनी भन्छन्, ‘परीक्षा फेरि दिउँला । अहिले देशका लागि उपाधि जित्न सफल भएका छौं । त्यसमा खुसी लागेको छ ।’

विकेट किपर ब्याट्सम्यान रोहनले प्रतियोगिताका चार खेलमा अवसर पाए । लोयर अर्डरमा ब्याटिङ गरेका उनले ३८ रन जोडे । यस्तै, बलिङ अलराउन्डर प्रशान्तले भने प्रतियोगिताको एक मात्रै खेलमा अवसर पाए । जसमा ६ रन जोड्दै ३.२ ओभर बलिङ गरेको प्रशान्तले एक विकेट पनि लिएका थिए ।

प्रतिभा जोगाउने चिन्ता

उमेर समूहमा यु–१६ क्रिकेटलाई सिनियर राष्ट्रिय टोलीका लागि खेलाडी उत्पादन गर्ने आधार प्रतियोगिता समेत मानिन्छ । यही उमेर समूहमा सशक्त प्रदर्शन गर्दै खेलाडीहरू सिनियर राष्ट्रिय टोलीसम्म पुग्न मेहनत गर्छन् ।

एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनबाट रोहन र प्रशान्तसहितको टोलीलाई भविष्यमा नेपाली सिनियर टोलीको जिम्मेवारी सम्हाल्ने सङ्केत गरेका छन् । तर, यी खेलाडीलाई सिनियर राष्ट्रिय टोलीमा पुग्ने बेलासम्म कसरी जोगाउने ?

उनीहरुको अभिभावकत्व लिने नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा छ । यसले गर्दा यिनीहरूका लागि नियमित प्रतियोगिता आयोजना गरिदिने निकाय समेत छैन । यु–१६ इस्टर्न रिजन क्रिकेटको उपाधि जितेर फर्किएका खेलाडी अब कहाँ जान्छन् र उनीहरूले के गर्छन् भन्ने पनि निश्चित छैन ।

यी खेलाडीलाई लिएर एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेटको उपाधि जितेका प्रशिक्षक वसन्त शाहीलाई पनि यही चिन्ताले सताएको छ । (हेर्नुहोस् भिडियो ।)


प्रशिक्षक शाहीसँगै कप्तान विशाल विक्रम केसीलाई यही चिन्ताले सताएको छ । दुई वर्षअघि नेपालले यही प्रतियोगिताको उपाधि जित्दा उपकप्तानको भूमिकामा रहेका विशालले यसपटक आफ्नै कप्तानीमा देशलाई दोस्रो उपाधि दिलाए । उनी अझै मेहनत गरेर सिनियर राष्ट्रिय टोलीबाट खेल्दै नेपाललाई थप उपाधि दिलाउने योजना सुनाउछन् । तर, उनलाई यो कुरा थाहा छैन कि उनी त्यस बेलासम्म क्रिकेटमा कसरी टिक्नेछन् ?

आफ्नो मेहनतमा देशका लागि उपाधि दिलाएर फर्किएका यी प्रतिभाको संरक्षण गर्नु सम्बन्धित निकायको जिम्मेवारी हो । त्यो जिम्मेवारी बहन गर्नुपर्ने क्यान हाल निलम्बनमा रहेकाले अव यसको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद् (राखेप) लगायत निकायले लिन जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: