ललिता निवास प्रकरणमा दोषी ठहरिए सजाय भोग्न तयार छु : महासचिव पौडेल « Nagarik Khabar

ललिता निवास प्रकरणमा दोषी ठहरिए सजाय भोग्न तयार छु : महासचिव पौडेल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का महासचिव विष्णु पौडेलले ललिता निवास जग्गा प्रकरणमा आफु दोषी ठहर भए जुनसुकै सजाय भोग्न तयार भएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमाथि धारणा राख्ने क्रममा महासचिव पौडेलले ललिता निवासको जग्गा प्रकरणबारे गम्भीर छानविन गर्न सरकारलाई आग्रह गर्दै त्यसक्रममा आफु दोषी ठहर भए सजाय भोग्न तयार रहेको प्रतिवद्धता जनाएका हुन् ।

‘ललिता निवास परिसरको जग्गा प्रकरणमा गम्भीरतापूर्वक छानविन होस्, सत्यतथ्य सार्वजनिक होस्, दोषीलाई कडा कानुनी कारबाही होस् भन्ने माग गर्छु,’ उनले भने, ‘म आफु दोषी ठहर भए जुनसुकै सजाय भोग्न तयार छु ।’

ललिता निवास परिसरको जग्गा प्रकरणमा आफुसहित पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलगायत विभिन्न व्यक्तिहरुको नाम जोडिएका समाचारहरु प्रकाशित भइरहेको सन्दर्भ उल्लेख गर्दै उनले गैरकानुनी तरिकाले दर्ता गरिएका सरकारी स्वामित्वका जग्गा फर्काउन सरकारले चालेको कदमको आफुले स्वागत गर्ने बताए ।

यसअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि ललिता निवास परिसरको जग्गा प्रकरणको सत्यतथ्य छानविन गर्न सरकारसंग माग गर्दै दोषी ठहर भए आफु सजाय भोग्न तयार भएको अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: