बुधबारदेखि सुरु हुँदै कांग्रेस जागरण अभियान « Nagarik Khabar

बुधबारदेखि सुरु हुँदै कांग्रेस जागरण अभियान



काठमाडौं । नेपाली काग्रेसले बैशाख २५ गते बुधबारदेखि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी आगामी बुधबारदेखि अभियान सञ्चालन हुने औंपचारिक जानकारी गराएको हो ।

बैशाख ११ गतेदेखि नै सुरु हुने भनिएको जागरण अभियान नेता रामकृष्ण ताम्राकारको निधनका कारण स्थगित गरिएको थियो । जागरण अभियानअन्तर्गत पहिलो चरणको कार्यक्रम एक महिनाको हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन हुने पहिलो चरणको जागरण अभियान सबै जिल्लामा सञ्चालन गरिनेछ । त्यसका लागि पार्टीका केन्द्रीय सदस्यहरु जिल्लामा पुग्ने काम सुरु भइसकेको प्रवक्ता शर्माले बताए ।

त्यसैगरी दोस्रो चरणको जागरण अभियान भदौ २४ गते विपी जयन्तीको अवसर पारेर सुरु हुनेछ । असोज १० गते सम्पन्न हुने दोस्रो चरणको जागरण अभियान ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा सञ्चालन हुने जनाइएको छ ।

तेस्रो चरणको कार्यक्रम आगामी पुस ७ गते सुरु भई पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिन सम्पन्न गर्ने जनाइएको छ । उक्त अभियान हिमाल, पहाड, तराई–मधेश र प्रवासमा समेत सञ्चालन हुने प्रवक्ता शर्माले जनाकारी दिए ।

तीनै चरणको जागरण अभियानमा पार्टीका केन्द्रीय नेताहरु परिचालन हुनेछन् । बुधबारदेखि सुरु हुने तीन चरणको जागरण अभियानमा उत्साह र जाँगरका साथ सहभागी हुन पार्टीका सबै नेता, कार्यकर्तालाई आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: