सलाह र फिर्मिनोले बार्सिलोनाविरुद्व नखेल्ने « Nagarik Khabar

सलाह र फिर्मिनोले बार्सिलोनाविरुद्व नखेल्ने



लण्डन । लिभरपुलका स्ट्राइकरद्वय मोहमद सलाह र रोवर्टाे फिर्मिनोले बार्सिलोनाविरुद्व यही मंगलबार हुने युरोपियन च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेगको खेल गुमाउने भएका छन् । यसले लिभरपुललाई ठूलो धक्का लागेको छ ।

दुबै खेलाडीले चोटका कारण लिभरपुलको महत्वपूर्ण खेल गुमाउने भएका हुन् । सलाह गत शनिबार न्युक्यासलविरुद्व भएको खेलमा लिभरपुलले ३–२ को जित हात पार्दा चोटग्रस्त बनेका थिए । बललाई हेड गर्ने प्रयासमा उफ्रिएका सलाह न्युक्यासलका गोलरक्षक मार्टिन दुब्राभ्कासँग ठोक्किन पुगेका थिए । त्यससँगै उनको टाउको भुईमा बजारिन पुगेको थियो ।

सलाहलाई लगत्तै स्ट्रेचरमा राखेर मैदानबाट बाहिर निकालिएको थियो । उनी कुनै गम्भिर समस्याबाट मुक्त रहे पनि बार्सिलानोविरुद्धको सेमिफाइनल दोस्रो लेगमा भने खेल्न नसक्ने लिभरपुलले जनाएको छ ।

यस्तै ब्राजिलियन स्ट्राइकर फिर्मिनोले पनि चोटकै कारण बार्सिलोनाविरुद्धको महत्वपूर्ण खेल गुमाउने भएका हुन् । बार्सिलोनाविरुद्धको गत मंगलबार भएको सेमिफाइनल पहिलो लेगको खेलमा अतिरिक्त खेलाडीको रुपमा मैदानमा प्रवेश गरेका फिर्मिनो फेरी चोटग्रस्त बनेका हुन् । चोटकै कारण उनी गत शनिबार न्युक्यासलविरुद्धको खेलमा पनि मैदान बाहिरै रहेका थिए ।

पहिलो लेगको खेलमा गत मंगलबार बार्सिलोनाको घरेलु मैदानमा ३–० को पराजय बेहोरेको लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा पुग्न अब आफ्नै मैदानमा हुने दोस्रो लेगको खेलमा सो नतिजालाई उल्टाउन आवश्यक छ । यद्यपि आफ्ना महत्वपूर्ण खेलाडी चोटका कारण खेल्न नसक्ने भएपछि लिभरपुलको च्याम्पियन्स लिग फाइनल खेल्ने र उपाधि जित्ने योजना संकटमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: