भट्टराई र यादव : फोरमबाट उठेर समाजवादीमा भेटिएका यात्री « Nagarik Khabar

भट्टराई र यादव : फोरमबाट उठेर समाजवादीमा भेटिएका यात्री



काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच एकता भएपछि देशमा नयाँ पार्टीको जन्म भएको छ –समाजवादी पार्टी नेपाल । समाजवादी पार्टीका अध्यक्ष बनेका छन्, डा. बाबुराम भट्टराई र उपेन्द्र यादव । यादव दुई तिहाईको सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री हुन् भने भट्टराई विपक्षी ।

अब यादव सरकार छाडेर विपक्षी बेञ्चमा बस्छन् या भट्टराई सत्ता पक्षको बेञ्चमा सर्छन् ? यससँगै ‘समाजवादी पार्टी नेपाल’ बनिसकेपछि तत्कालीन फोरमका अध्यक्ष यादव र नयाँ शक्तिका संयोजक भट्टराईको स्वभावका विषयमा धेरैले चासो व्यक्त गरेका छन् । नयाँ पार्टीको कार्यसमिति टुंगो लगाए पनि बाँकी जिम्मेवारीका विषय छलफलमै छ । चुनाव चिन्ह फोरमको तारा राख्ने वा नयाँ शक्तिको आँखा राख्ने भन्ने पनि नटुंगिएको विषय हो ।

नेकपाको सिको गर्दै समाजवादी पार्टीले पनि दुई अध्यक्षात्मक प्रणाली अपनाएर एकता टुङ्ग्याएको छ । यससँगै भट्टराई पहिलो नम्बरको अध्यक्ष र यादव कार्यकारी अध्यक्ष बनेका छन् । जसलाई भट्टराई संघीय परिषद्को अध्यक्ष र यादव केन्द्रीय अध्यक्ष भनिएको छ । केन्द्रीय समितिले गरेका निर्णय संघीय परिषद्ले परिवर्तन गर्न सक्नेसम्मको अधिकार राखिएको छ । तर, पूर्व फोरमबाट संघीय परिषद् लगायत केन्द्रीय समितिमा बहुमत संख्या छ ।

भट्टराई तत्कालीन माओवादीमा कुनै बेला तेस्रो वरियतामा र मोहन वैद्य निस्किएपछि दोस्रो वरियतामा थिए । उनको एकमात्र चाहाना माओवादीको शक्तिशाली अध्यक्ष हुने थियो । तर, उनको त्यो चाहाना पूरा हुने सम्भावना थिएन । र, उनी आफै शक्तिशाली अध्यक्ष हुने गरी माओवादी परित्याग गरेर नयाँ शक्ति पार्टी बनाए । उनै भट्टराई यादवसँग एकता गरेर थोरै अधिकार प्राप्त अध्यक्ष बनेका छन् ।

यादव २०६३ को मधेस आन्दोलनबाट उदाएका नेता हुन् । त्यस अघि उनी कुनै बेला एमाले र पछि माओवादीको सामान्य कार्यकर्ता थिए । मधेस आन्दोलनपछि कांग्रेस नेता विजयकुमार गच्छेदार, जयप्रकाश गुप्ताजस्तालाई नेतृत्व गरेर मधेसी जनअधिकार फोरम बनाए र आफू त्यसको अध्यक्ष बने । उनको शक्ति क्षिण हुँदै गए पनि २०७४ को निर्वाचनमा आफूलाई चौथो पार्टीको नेता पुष्टि गरे । र, सरकारसम्म पुगे । प्रतिनिधिसभामा १६ सिट भएका यादवले एक सिट भएका भट्टराईलाई पहिलो नम्बरको अध्यक्ष मानेका छन् ।

प्रतिनिधिसभामा १६ सिट भएका यादवले भट्टराईलाई कसरी पहिलो वरियताको अध्यक्ष माने ? शक्तिशाली अध्यक्ष हुन नपाएकोमा माओवादी परित्याग गरेका भट्टराईले यादवलाई कार्यकारी अध्यक्ष कसरी माने ? यसमा दुवैको स्वार्थ छन् । भट्टराईलाई १६ सिट भएको पार्टीको नेताले आफूलाई पहिलो वरियताको अध्यक्ष मानेकोमा सुन्तुष्टि छ । त्यसैगरी यादवलाई पूर्वप्रधानमन्त्री भट्टराईलाई कम अधिकार दिएर आफू कार्यकारी अध्यक्ष हुन पाएकोमा सन्तुष्टि छ ।

एकताको घोषणासँगै भट्टराई र यादवले आगामी छ महिनाभित्र एकताको महाधिवेशन गर्ने घोषणा गरेका छन् । मिति नतोकिए पनि आगामी असोजमा समाजवादी पार्टीको महाधिवेशन हुने भएको छ । महाधिवेशनले पनि दुई अध्यक्ष बनाउँला वा भट्टराई र यादव मध्य एकजनालाई ? पार्टी एकतामा सहभागि एकीकृत पार्टीका नेताहरुले एकता घोषणासभामा प्रश्न गरेका छन् ।

चण्डीगढदेखि प्रज्ञा भवनसम्म भट्टराई

गोरखामा वि.सं. २०११ सालमा जन्मिएका भट्टराईले राजनीतिक जीवन ०३३ देखि शुरु गरे । २०२६ सालमा एसएलसी बोर्ड फस्ट भएका उनी नेपालमा अध्ययन गरेर उच्च शिक्षाका लागि भारत पुगे । आर्किटेक्चरल इन्जिनियरिङ अध्ययनका लागि उनी ०२९ सालमा भारतको चण्डीगढ गएका थिए । त्यहीबाट शुरु भएको उनको राजनीतिक यात्रा औपचारिक रुपमा नेपालको प्रधानमन्त्रीसम्म पुग्यो ।

भट्टराईले आफ्नै पहलमा चण्डीगढमा ०३३ सालमा नेपाली विद्यार्थी संघ गठन गरे । त्यसपछि ०३४ सालमा भारतभर छरिएका नेपाली विद्यार्थीलाई संगठित गर्ने अभियानमा लागे । उनले अखिल भारत नेपाली विद्यार्थी संघ अभानेविसं स्थापना गरेर आफू अध्यक्ष बने ।

भट्टराईले ०३६ सालसम्म आफू कुन पार्टीको हो भन्ने नखुलाएर नै राजनीति गरेका थिए । ०३७ सालमा उनले मोहविक्रम सिंह मार्फत नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिए । उनी अखिल भारत नेपाली एकता समाजमा समेत क्रियाशील बने । ०४२ सालमा विद्यावारिधी पूरा गरेपछि पार्टी ‘मशाल’ र ‘मसाल’मा विभाजन भयो ।

भट्टराई मोहनविक्रम नेतृत्वको पार्टीको जिम्मेवारी लिएर काठमाडौंमा खटिए । उनले २०४६ सालको पञ्चायत विरोधी आन्दोलनमा वामपन्थीको संयुक्त राष्ट्रिय जनआन्दोलनको प्रवक्ता एवम् संयोजक बनेर काम गरे । २०४७ सालमा मोहनविक्रमसँग बढ्दै गएको असन्तुष्टिपछि उनले पार्टी परित्याग गरेनन् तर, ‘फोरम फर युनिटी’ निर्माण गरे ।

त्यहीं क्रममा भट्टराई हालको नेकपाका नेता हरिबोल गजुरेलको नेतृत्वमा नेकपा (एकता केन्द्र)मा समाहित भए । प्रचण्ड महासचिव हुँदा भट्टराईले पोलिटव्यूरो सदस्यको जिम्मेवारी पाए । ०४८ देखि ०५२ सम्म बाह्य गतिविधि भट्टराईकै नेतृत्वमा भएको थियो । उनी जनयुद्धमा मुख्य भूमिकामा रहे । जनयुद्ध अघि उनले नै तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ४० बुँदे मागपत्र बुझाएका थिए ।

नेकपा (माओवादी)ले थालेको जनयुद्धमा उनी पटक–पटक गरेर चार महिना वार्ता समितिमा रहेर सार्वजनिक भएका थिए । जनयुद्धकै क्रममा उनी माओवादीको साधारण सदस्य मात्रै रहने गरी कारबाही परेका थिए । पछि प्रचण्डले वक्तव्य सार्वजनिक गरेर कारबाही फुकुवा भएको घोषण गरेका थिए ।

माओवादीले २०६२ को बहुचर्चित चुनबाङ बैठकपछि लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा बनाएर संसदवादी पार्टीहरुसँग सहकार्य गरेको थियो । सुरुका छलफलमा प्रचण्डले भट्टराईलाई खटाएका थिए । वृहत् शान्ति संझौता र अन्तरिम संविधान निर्माणमा भट्टराईले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

०६४ साल चैतमा भएको पहिलो संविधानसभा निर्वाचनमा भट्टराई गोरखा २ बाट विजयी भए । गणतन्त्रपछिको पहिलो जननिर्वाचित सरकारको माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा उनी अर्थमन्त्री बने ।

सेनापति रुकमांगद कटवालमाथि कारबाही प्रकरणमा प्रचण्डले राजिनामा दिएपछि माओवादीमा ‘धोविघाट’ काण्ड मच्चियो । तत्कालीन माओवादीमा मोहन वैद्य, भट्टराई र रामबहादुर थापा ‘बादल’ समूहको प्रचण्ड विरुद्धको भेला थियो –धोविघाट ।

त्यहीं भेलाको बलमा भट्टराई ०६८ सालदेखि ०६९ फागुनसम्म देशको ३५ औं प्रधानमन्त्री बने । पहिलो संविधानसभा विघटन गरेको आरोप पनि उनलाई लाग्ने गरेको छ । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी गोरखा र रुपन्देही गरेर दुई ठाउँबाट उठे । तर, गोरखाबाट मात्रै विजयी बने । त्यो निर्वाचनमा माओवादीबाट मतगणना बहिष्कारमा पनि उनी उत्तिकै सक्रिय थिए ।

त्यसपछि संविधान जारी गर्नेक्रममा उनी असन्तुष्टि जनाएर ०७२ सालमा एकीकृत नेकपा माओवादी परित्याग गरे । तर, माओवादी परित्याग गर्नुको मूल कारण भने अध्यक्ष हुन नपाएर हो भन्ने पूर्व माओवादीहरुको टिप्पणी छ ।

भट्टराईले ०७३ सालमा वैकल्पिक राजनीतिक शक्ति दाबी गर्दै नयाँ शक्ति पार्टी गठन गरे । त्यसपछि फेरि एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानमा सक्रिय भएर तत्कालीन एमाले र माओवादी केन्द्रबीच सहमति हुँदा नयाँ शक्ति पार्टीको हैसियतमा उनी पनि सक्रिय थिए ।

उनीसँगै पार्टीमा रहेका देवेन्द्र पौडेल, मुमाराम खनाल, रामेश्वर खनाल लगायतले भट्टराईलाई साथ छाडे । भट्टराई थप कमजोर हुँदै जाँदा २०७४ को निर्वाचनमा प्रतिनिधिसभामा आफूमात्र विजयी बने । अन्ततः उनी २०७४ को निर्वाचन अघि हुन नसकेको उपेन्द्र यादवसँगको एकतालाई सोमबारसम्म आएर निष्कर्षमा पुर्‍याए । प्रतिनिधिसभामा १६ सिट भएका यादवलाई आफू भन्दा तल्लो वरियतामा राखेर भट्टराई नयाँ पार्टीको अध्यक्ष बनेका छन् ।

चण्डीगढमा उच्च शिक्षा अध्ययन गर्दै गर्दा सुरु भएको भट्टराईको यात्रा सोमबार प्रज्ञा भवनमा उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकता गरेर नयाँ पार्टी बनाउनेसम्म आइपुगेको छ ।

झापा आन्दोलनको रापदेखि प्रज्ञा भवनसम्म यादव

२०१६ सालमा सुनसरीमा जन्मिएका यादवले ०३२ सालदेखि राजनीतिक यात्रा शुरु गरेका हुन् । ०३२ सालमा एसएलसी दिएपछि झापा आन्दोलनको प्रभावले अनेरास्ववियुमा सक्रिय यादवले आफू झापा आन्दोलनको रापले राजनीतिमा प्रवेश गरेको बताउँछन् । पुष्पलाल समूहको विद्यार्थी समूहमा सक्रिय यादवले ०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठबाट कम्युनिष्ट पार्टीको चौवन्नी सदस्यता लिएका थिए ।

विद्यार्थी राजनीति हुँदै यादव जनमत संग्रहमा सक्रिय भए । जनमत संग्रहकै क्रममा अखिल विभाजित भयो । उनी प्रगतिशील विद्यार्थी युनियनको दुई कार्यकाल उपाध्यष भए । ०४६ सालमा उनी नेपाली काँग्रेसको आव्हानमा भएको सत्याग्रहमा सामेल भए । र, काठमाडौंबाट गिरफ्तार भए । एक वर्षको कारागार बसाईपछि उनी फेरि पार्टीमै फर्किए ।

उनले नेकपा माले र माक्र्सवादी मिलेर बनेको नेकपा एमालेको कोशी अञ्चल कमिटीमा काम गरे । ०४६ सालको आन्दोलनमा यादव विराटनगरबाट पक्राउ परेका थिए । प्रजातन्त्र पुनस्र्थापनापछि उनलाई ०४८ सालमा एमालेले सुनसरी ४ बाट उम्मेदवार बनायो । उनी कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारसँग पराजित भए । उनले पछि सुनसरी र मोरङ्गको नेतृत्व गरे ।

यादवले २०५४ मा गैर सरकारी संस्थाको रुपमा मधेसी जनअधिकार फोरम गठन गरेका थिए । ०५६ सालमा मधेसका विभिन्न मुद्दामा उनले पार्टीभित्र अभियान थाले । पार्टीभित्र साम्प्रदायिक व्यक्तिको आरोप लागेपछि उनी आफैंले स्थापना गरेको फोरमका क्रियाशिल भए ।

०५९ सालमा तत्कालिन राजाले शक्ति आफ्नो हातमा लिएपछि उनी नेकपा (माओवादी)मा सक्रिय भए । तर, उनले अहिलेसम्म पनि माओवादीको सदस्यता नलिएको दावी गर्छन् । माओवादी आन्दोलनका क्रममा दिल्लीमा मात्रिका यादव र सुरेश आलेसँगै उनी पनि पक्राउ परेका थिए । त्यसपछि जनआन्दोलनका क्रममा उनी नेपालमा आएर सक्रिय भए ।

आन्दोलन सकिएपछि उनले ०६३ साल माघ २ गते अन्तरिम संविधान जलाए । डा. बाबुराम भट्टराईको समेत योगदान रहेको संविधान जलाएर यादवले चलाएको मधेस आन्दोलनमा चर्चित गौर काण्ड घट्यो । जहाँ भट्टराई नेता रहेको माओवादीका २९ जना कार्यकर्ताको हत्या भएको थियो ।

मधेस आन्दोलनमा यादव गिरफ्तार समेत भए । मधेस आन्दोलनको नेतृत्व गरेका यादवले कांग्रेस छाडेका विजयकुमार गच्छदार, जयप्रकाश गुप्ता लगायतका नेताहरुलाई आफ्नो मातहतमा राखेर निर्वाचन आयोगमा मधेसी जनअधिकार फोरम दर्ता गरे ।

२०६४ को संविधानसभा निर्वाचनमा शक्तिशाली राजनीतिक शक्तिको रुपमा उनी उदाए । उनी आफू मोरङ र सुनसरी दुई स्थानबाट निर्वाचित बने । २०६५ मा बनेको प्रचण्ड नेतृत्वको सरकारमा उनी उपप्रधान तथा परराष्ट्र मन्त्री बने । तर, उनलाई विजयकुमार गच्छेदारले साथ छाडे र अलग्गै पार्टी गठन गरे । जेपी गुप्ता, राजकिशोर यादव लगायतले पनि यादवको साथ छाडे ।

यादव ०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा समेत उपप्रधान सहित परराष्ट्रमन्त्री बने । ०७० सालको निर्वाचनमा उनी सुनसरी ५ बाट निर्वाचित भए । उनले त्यसबीचमा एमाले परित्याग गरेर संघीय समाजवादी बनाएका अशोक राई नेतृत्वको पार्टीलाई फोरममा समाहित गरे । ०७४ मा भएका प्रतिनिधिसभा निर्वाचनमा उनी सप्तरी २ बाट निर्वाचित भए ।

०७४ पछि उनी उपप्रधान तथा स्वास्थ्य मन्त्रीको रुपमा कार्यरत छ । पार्टीमा विभिन्न आरोह अवरोह आए पनि निरन्तर रुपमा उनी नेताका रुपमा स्थापित छन् । उनीसँग सहकार्य गर्ने जयप्रसाद गुप्ता, विजयकुमार गच्छदार लगायतका नेता अहिले उनीसँग छैनन् ।

२०७४ को निर्वाचन अघि एउटै कम्युनिस्ट केन्द्र बनाउने गरी तत्कालीन एमाले र माओवादीले गरेको पहलमा यादव पनि सहभागी थिए । त्यसमा यादव पछि हटे । त्यसबीचमै नयाँ शक्तिसँग पार्टी एकता गरेर निर्वाचनमा जाने प्रयास गरे । तर, सार्थकता पाउन सकेनन् । निर्वाचनपछि तराई मधेस लोकतान्त्रिक पार्टीसँग एकताको प्रयास गरे । त्यसमा परिणाम निस्किएन ।

अन्ततः कुनै समय जनयुद्धको नेतृत्वदायी भूमिका रहेका, पूर्वप्रधानमन्त्री भईसकेका डा. बाबुराम भट्टराई सामान्य अधिकार भएको अध्यक्ष हुने गरी पार्टी एकता गरेर आफू कार्यकारी अध्यक्ष बने । र, आफूलाई एक राजनीतिक खेलाडीको रुपमा पुष्टि गरे । झापा विद्रोहको रापतापले राजनीतिमा लागेका यादवको राजनीतिक यात्रा सोमबार प्रज्ञाभवनमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकता गरेर नयाँ पार्टी बनाउनेसम्म आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: