बागलुङमा दुई शव फेला, जङ्गलमा सडेको अवस्थामा शव भेटियो « Nagarik Khabar

बागलुङमा दुई शव फेला, जङ्गलमा सडेको अवस्थामा शव भेटियो



बलेवा । बागलुङको बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकामा दुई पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ । बडिगाड गाउँपालिका–८ नेटाको जङ्गलमा सडेको अवस्थामा बागलुङकै तमानखोला गाउँपालिका–२ का बमबहादुर घर्तीको शव फेला परेको हो ।

सोमबार बिहान घाँसदाउराका लागि जङ्गल पुगेका स्थानीयवासीले घर्तीको कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनको शव पूरै सडेको अवस्थामा भए पनि उनले लगाएको चप्पल र कपडाले पहिचान भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झवेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

घर्ती चार महीनाअघिदेखि बेपत्ता थिए । मानसिक समस्या रहेका उनलाई परिवारले खोजी गरिरहेको भए पनि सोमबार मात्रै उनको शव जङ्गलमा फेला परेको हो । उनको शव परीक्षणका लागि प्रहरीले धवलागिरि अञ्चल अस्पताल पठाएको छ ।

त्यस्तै जिल्लाको जैमिनी नगरपालिका–८ को कालीगण्डकी नदीकिनारमा एक व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताउनुभयो । शवको पहिचान हुनसकेको छैन । शव परीक्षणका लागि जिल्ला सदरमुकामस्थित धवलागिरि अञ्चल अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: