२०औं घलेगाउँ महोत्सव शुरु « Nagarik Khabar

२०औं घलेगाउँ महोत्सव शुरु



लमजुङ । लमजुङको उत्तरी भेगमा रहेको लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा रहेको दक्षिण एशियाकै नमूना एवं नेपालकै पहिलो स्मार्ट भिलेज बन्दै गरेको घलेगाउँमा २०औँ घलेगाउँ महोत्सव शुरु भएको छ ।

‘प्राकृतिक सुन्दरता, गुरुङ कला संस्कृति र घरबास, घलेगाउँ समृद्विको आधार स्मार्ट भिलेज, स्थानीय लोक संस्कृति संरक्षण र प्रवद्र्वन, ग्रामीण पर्यटनको विकासको पूर्वाधार’ भन्ने नाराका साथ सोमबारदेखि घलेगाउँमा महोत्सव शुरु भएको हो ।

महोत्सवमा गुरुङ समुदायको परम्परागत गुरुङ संस्कृति, घाटु, सेर्का, सोरठी, कृष्ण चरित्र, घ्याब्रेलगायतका पौराणिक नृत्य प्रस्तुत गरिएको छ । गुरुङ चलचित्रका कलाकार मनोज गुरुङ, निस्ता गुरुङ, प्रिया गुरुङ साथै स्थानीय कलाकारले महोत्सवमा आफ्नो प्रस्तुति दिएका थिए ।

मनोरम प्राकृतिक दृश्यावलोकन, पौराणिक हस्तकला सामग्री प्रदर्शनी, स्थानीय कृषि उपजको प्रदर्शनी, हिमालको दृश्यावलोकन, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन, गोर्खा आर्मी उद्यान, सार्क भिलेज पर्यटन सङ्ग्रहालय, पौराणिक भेँडीगोठ, तिजे उत्तरकन्या मन्दिर, नमूना चियाबगान महोत्वसको मुख्य आकर्षण रहेको छ ।

आर्थिक समृद्वि, ग्रामीण गुरुङको लोक संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्वन गर्न र घलेगाउँलाई ‘स्मार्ट भिलेज’का रूपमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँ लमजुङका अध्यक्ष तथा क्होलासोथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: