समलिङ्गी सेक्स गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानुन निलम्बन « Nagarik Khabar

समलिङ्गी सेक्स गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानुन निलम्बन



एजेन्सी । समलिङ्गी यौनसम्बन्ध राख्ने व्यक्ति र व्यभिचारीलाई ढुङ्गाले हानेर मृत्युदण्ड दिने गरी गत महिना घोषणा गरिएका कानुनबाट ब्रुनाई पछाडि हटेको छ । सुल्तान हसनल बोल्कियले मृत्युदण्डको व्यवस्था गरिएको नयाँ कानुनको निलम्बन अवधि लम्ब्याएका हुन्।

ती कानुनी व्यवस्थाहरूको विश्वव्यापी विरोधका साथै चर्चित व्यक्तिहरूको आपत्ति गर्दै सुल्तानका अन्तर्राष्ट्रिय ठूला होटलहरू बहिष्कारपछि ब्रुनाईले त्यसबारे पुनर्विचार गरेको हो।

ब्रुनाईको कानुनमा केही अपराधको निम्ति मृत्युदण्डको प्रावधान राखिएको भएपनि सन् १९५७ यता कसैलाई पनि मृत्युदण्ड भने दिइएको छैन। गत महिना ब्रुनाईले इस्लामिक कानुनको कडा नयाँ व्याख्या जारी गरेको थियो। आफ्नो सम्बोधनमा सुल्तानले कानुनको कार्यान्वयनलाई लिएर कैयौं प्रश्न र भ्रामक दृष्टिकोण रहेकोबारे आफू जानकार रहेको बताएका छन्।

ब्रुनाईका प्रधानमन्त्री पनि रहेका सुल्तान संसारका सबैभन्दा धनीमध्येमा पर्दछन । उनले उक्त कानुनमा रहेको मृत्युदण्डको प्रावधान निलम्बन हुने बताए पनि त्यसको विशेषता स्पष्ट हुने भन्दै ती कानुनको प्रतिरक्षा समेत गरेका छन् ।

कानुनको घोषणापछि देशका शासकले सार्वजनिक रूपमा त्यसबारे बोलेको पहिलो पटक हो। ब्रुनाईमा समलिङ्गी सम्बन्ध यसअघि नै गैरकानुनी छ र १० वर्ष कैद सजाय हुने व्यवस्था छ। देशको चार लाख २० हजार कूल जनसङ्ख्यामध्ये दुई तिहाइ मुस्लिम छन्। (बीबीसी)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: