बाजुरामा भाइरल ज्वरो सङ्क्रमण सामान्य हुँदै « Nagarik Khabar

बाजुरामा भाइरल ज्वरो सङ्क्रमण सामान्य हुँदै



बाजुरा । जिल्लाको हिमाली गाउँपालिका–५ बँच्छ्या, क्युडी त्यस्तै ६ नं वडाको पाडीमा फैलिएको भाइरल ज्वरोको सङ्क्रमण अहिले सामान्य हुँदै गएको छ । सिङ्गो गाउँ नै प्रभावित हुने गरी फैलिएको सङ्क्रमण दिनप्रतिदिन सामान्य हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।

रोगको सङ्क्रमणबाट प्रभावित बिरामी निको हुँदै गएका छन् भने थप व्यक्तिमा सङ्क्रमण नदेखिएको कार्यालय प्रमुख अशोक सिंहले जानकारी दिनुभयो । गाउँमा चार दिनदेखि स्वास्थ्यकर्मीको टोली उपचारार्थ खटिरहेको छ । सङ्क्रमण फैलिएको प्रत्येक गाउँमा स्वास्थ्यकर्मी खटिएका छन् । सङ्क्रमणका कारण ६ नं वडा पाडीमा १४०, ५ नं वडा बिच्छ्यामा ४० र क्युडीमा ९३ स्थानीयवासी बिरामी परेका थिए । उपचारपछि सबैजसो बिरामी सामान्य अवस्थामा आइपुगेका छन् ।

समयमै उपचार नपाउँदा क्युडीगाउँकी ५५ वर्षीया छञ्चकला बुढाको ज्यान गएको छ भने पाँडीका दुई वृद्ध थला परेका छन् । उमेरले ८० कटेका दुवैमा रुघाखोकी निको भए पनि थप अरु सङ्क्रमण देखिएको बुझिएको छ । तर पनि स्वास्थ्यकर्मीले उपचार सेवा दिइरहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तीन वटै गाउँमा स्वास्थ्यकर्मी खटिएका छन् ।

औषधिसहित क्युडीमा अहेव माया पाण्डे र अनमी चन्द्रा थापा, बच्छ्यामा अहेव धनबहादुर फँडेरा, पाडीमा हेल्थ असिस्टेन्ट धर्मदत्त बुढा, अहेव वासुदेव पाण्डेको टोली खटिएको छ । कुनै प्रकारको उपचार सेवा र औषधिको कमी नहुने गरी टोली खटाइएको गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लले बताउनुभयो ।

सङ्क्रमित गाउँमा आवश्यकभन्दा दुईगुणा बढी औषधि पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । प्रदेश सरकार मातहतमा रहने कार्यालय भएकाले प्रदेश सरकारसँगको परामर्शमा गतिविधि अगाडि बढाइएको कार्यालय प्रमुख सिंहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: