कोम्पनीको निर्णायक गोलमा सिटी उपाधि नजिक « Nagarik Khabar

कोम्पनीको निर्णायक गोलमा सिटी उपाधि नजिक



म्यानचेस्टर । कप्तान भिसेन्ट कोम्पनीको निर्णायक गोलमा लेस्टर सिटीविरुद्व महत्वूर्ण जित हात पारेको म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा अझै अघि देखिएको छ ।

यो नतिजासँगै यही शनिबार हुने इङ्लिस प्रिमियर लिगको अन्तिम चरणको खेलबाट मात्रै उपाधिको टुङ्गो लाग्ने भएको छ । शनिबार एकै समयमा उपाधिको होडमा रहेका दुई टोलीमध्ये म्यान सिटीले अवे खेलमा ब्राइटोनसँग प्रतिस्पर्धा गर्ने छ भने लिभरपुलले आफ्नै मैदानमा वल्भरह्याम्पटको सामना गर्ने छ ।

उपाधिका लागि दुवै टोलीलाई जित अत्यावश्यक छ । म्यान सिटीका लागि उपाधि जित्न ब्राइटोनमाथीको जित पर्याप्त हुने छ । लिभरपुलका लागि भने आफ्नो जितले मात्रै उपाधि जित्न पर्याप्त हुने छैन । अर्काे खेलमा म्यान सिटीले पनि कम्तीमा बराबरीको नतिजा बेहोरेको हुनुनपर्ने छ ।

प्रिमियर लिगमा अन्तिम एक चरणको मात्रै खेल बाँकी रहँदा शीर्ष स्थानमा रहेको म्यान सिटीको ९५ तथा लिभरपुलको ९४ अंक रहेको छ ।

सोमबार बेलुका आफ्नै मैदान इत्तिहाद स्टेडियममा कप्तान कोम्पनीले खेलको ७० औं मिनेटमा आकर्षक गोल गरेपछि म्यान सिटीको जित निश्चित भएको थियो । झण्डै ३० यार्ड दुरीबाट कोम्पनीको सशक्त प्रहारले सिधै जाली चुमेको थियो । लेस्टरका गोलरक्षक कास्पर स्कमेइचेलले कोम्पनीको सो प्रहारलाई रोक्ने अवसर नै पाएनन् ।

त्यसपछिको समयमा दुवै टोलीबाट थप गोल भएन र म्यान सिटी १–० गोल अन्तरले विजयी बन्यो । शनिबारको फाइनल खेल अघि म्यानचेस्टर सिटी पूर्ण रूपमा विश्राममा हुने छ भने लिभरपुलका लागि भने मंगलबार नै महत्वपूर्ण खेलबाट गुज्रनु पर्ने छ । लिभरपुल मंगलबार राति युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल दोस्रो लेगको खेलमा स्पेनी टोली बार्सिलोनासँग प्रतिस्पर्धामा उत्रदै छ । पहिलो लेगको खेलमा ३–० ले पराजित भएको लिभरपुललाई फाइनलमा स्थान सुरक्षित गर्न कुनै पनि अवस्थामा दोस्रो लेगको खेलमा यो नतिजालाई उल्टाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: