जुनसुकै बेला खतराको घन्टी बज्न सक्छ: प्रचण्ड « Nagarik Khabar

जुनसुकै बेला खतराको घन्टी बज्न सक्छ: प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनलाई संस्थागत गर्नका लागि सबैको एकताको जिम्मेवारी पुरा नभएको बताएका छन् । सरकारको नीति तथा कार्यक्रमको छलफलमा भाग लिदैं प्रचण्डले अहिलेको समय सत्तापक्ष र प्रतिपक्ष भनेर विभाजित हुने समय नभएको बताए ।

उनले राजनीतिक नेतृत्वले राज्यका सबै संरचनाहरुलाई मुलुकमा आएको राजनीतिक परिर्वतन अनुकूल बनाउन नसकेको बताएका छन् । अध्यक्ष प्राप्त राजनीतिक परिर्वतन र उपलब्धिलाई संस्थागत गरी जनतालाई सन्तुष्ट बनाउने र परिर्वतनअनुसार राज्यका संरचनालाई रुपान्तरण गर्ने सवालमा राजनीतिक नेतृत्व ७० वर्षदेखि नै चुक्दै आएको टिप्पणी गरे । राजनीतिक परिर्वतनसँगै राज्य संरचनाहरुको शैलीलाई परिर्वतन गर्न नसक्दा पुरानै साेंच र शैली हावी हुने खतरा पनि उत्तिकै रहेको भन्दै उनले त्यसतर्फ नेतृत्व गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए ।

‘दिन प्रतिदिन परिर्वतन डाइल्युट हुँदै जाने खतरा छ । राज्य संरचनाका अन्य अवयवहरुले राजनीतिक नेतृत्वको प्रवृतिलाई भुत्ते बनाउन सक्ने र पुरानै सोच र शैली हावी हुने खतरा हुने त होइन ?’ अध्यक्ष प्रचण्डले भने, ‘यो प्रश्न अब हल भइसक्यो, अब केही पनि हुन सक्दैन भन्ने अवस्था अझै पनि छैन ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने सवालमा सरकारले परिर्वतनअनुसारको संरचना नयाँ विकास गर्ने, कर्मचारी समायोजन तथा कार्यशैलीगत समस्याका कयौँ जटिलताहरु सामना गर्नु परेको बताए । राजनीतिक परिर्वतनसँगै मुलुकका अन्य संरचनाको कार्यशैली पनि बिस्तारै परिर्वतन र सुदृढ हुँदै जान्छ र यसले जनतालाई विकास र नया जीवनको बाटोमा लैजान्छ भन्ने विश्वास बढाउँदै लगेको छ वा घटाउदै लगेको छ भन्ने अझै टुंगो नलागिसकेको दृष्टान्त प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले जनताको विश्वासलाई जित्ने संकल्प गर्नुपर्नेमा जोड दिए । ‘आफ्ना अगाडिका लक्ष्य पूरा गर्न हिजोको जस्तै त्याग, तपस्या र बलिदान गर्ने संकल्प नेतृत्वले र जनप्रतिनिधिहरुले नगर्ने हो भने खतराको घण्टी बज्न सक्छ,’ उनले भने, ‘आज नभए भोलि, भोलि नभए पर्सि खतरा आउन सक्छ । त्यसकारण पनि लक्ष्य निर्धारण गर्दा यो विषयमा ध्यान दिनु जरुरी छ ।’

आफ्नो नेतृत्वको एक वर्षमा समृद्धि र सुखी नेपालीको आकांक्षा सम्बोधन गर्नका लागि गरेका प्रयास र संविधान कार्यान्वयनका लागि आवश्यक ऐन समयमै बनाएकोमा उनले सरकारलाई धन्यवाद दिए । यो अवधिमा सरकारले परराष्ट्र सम्बन्ध सुदृढ बनाएको प्रचण्डको दाबी छ । शान्ति प्रक्रियाका केही काम अझै पनि बाँकी नै रहेको भन्दै संविधानको मर्म र भावनाअनुसार ऐन बनाउने प्रक्रिया अघि बढेको भए पनि टुंगो लागिनसकेकाले जनताले संघीय लोकतान्त्रिक गणतन्त्रबाट गरेको अपेक्षालाई सकारात्मक ढंगले सम्बोधन गर्ने प्रक्रिया सुरु मात्रै भएकाले सबै राजनीतिक शक्तिहरु अझै पनि एकजुट हुन आवश्यक रहेको औंलाए ।

अध्यक्ष प्रचण्डले मुख्य आधार कृषि र भूमिलाई नबनाएसम्म व्यवहारमा समृद्धि हासिल गर्न नसकिने भएकाले भू–उपयोग र वैज्ञानिक भूमिसुधार अघि बढाउने, कृषिमा युवालाई आकर्षित गर्ने, कृषिमा आधारित उद्योग विकासलाई प्राथमिकता दिने सरकारको नीति तथा कार्यक्रम विकासको सन्दर्भमा नेपालको धरातलसँग मिल्दो भएको टिप्पणी गरे ।

सत्तापक्षले राम्रा कार्यक्रम र नीति ल्याए पनि प्रतिपक्षीले विरोध गर्नुपर्ने र प्रतिपक्षीको सुझावलाई सत्तापक्षले पनि स्वीकार नगर्ने बाध्यताले समाजमा नकारात्मक दृष्टिकोणलाई प्रश्रय दिनेतर्फ दुवै पक्ष गम्भीर हुनुपर्ने बताए । यद्यपि, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा सरकारको तयारी र प्रतिपक्षीको प्रतिवाद गर्ने तयारी गत वर्षको तुलनामा व्यवस्थित भएको आफुले पाएको भन्दै उनले सरकारलाई र प्रतिपक्षी दलका सांसदहरुलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: