गोरखापत्र संस्थानको घरलाई ‘बाख्राको खोर’को संज्ञा (भिडियो) « Nagarik Khabar

गोरखापत्र संस्थानको घरलाई ‘बाख्राको खोर’को संज्ञा (भिडियो)



काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गोरखापत्र संस्थानको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

मन्त्री बास्कोटाले गोरखापत्र संस्थानको काममा तत्काल सुधार नभए कर्मचारीहरुको विकल्प खोज्ने चेतावनी समेत दिए । उनले गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीहरुलाई उत्साहका साथ काम गर्न निर्देशन दिँदै त्यसमा सुधार नभए पेन्सन रोक्का गर्नुपर्ने अवस्था आउनेतर्फ पनि सचेत गराए ।

गोरखापत्र प्रकाशनको १ सय १९ औं वर्ष प्रवेश तथा चौंथो राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पेन्सन खाने तर गोरखापत्र संस्थानको काममा सुधार नहुने कुरालाई अन्त्य गरेर अघि बढने योजना अघि सारे । गोरखापत्र संस्थानको घरलाई ‘बाख्राको खोर’को संज्ञा दिँदै मन्त्री बास्कोटाले त्यसलाई भत्काएर नया भवन निर्माण गर्ने पनि बताए ।

मन्त्री बास्कोटाले गोरखापत्र संस्थानलाई पढौं–पढौं लाग्ने बनाउन इमान्दार भएर काम गर्न पनि कर्मचारीहरुलाई सचेत गराए । गोरखा पत्र संस्थान चुनौतिको घेरामा रहेको उल्लेख गर्दै मन्त्री बास्कोटाले त्यसलाई मुनाफामा परिणत नगरेसम्म सरकारले त्यहाँका कर्मचारीहरुलाई थप सुविधा दिन नसक्ने पनि स्पष्ट पारे ।

मन्त्री बास्कोटाले इमान्दार भएर काम गर्नुनै लोकतन्त्र भएको उल्लेख गर्दै त्यसैबाट मात्रै हरेकको सम्मान हुने पनि बताए । कार्यक्रममा मन्त्री बास्कोटाले कामै नगरेको भन्दै हुलाक कार्यालयप्रति आक्रोश व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: