देश बनाउने सपना दिउँसै देख्ने होः प्रधानमन्त्री ओली (भिडियोसहित) « Nagarik Khabar

देश बनाउने सपना दिउँसै देख्ने होः प्रधानमन्त्री ओली (भिडियोसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको सपना दिउँसै देख्नुपर्ने बताएका छन् । उनले राती देख्ने सपना तरंग मात्रै भएको टिप्पणी गरे । संसदमा नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै उनले भने केही साथीहरुलाई सपना राती मात्रै देख्ने हो भन्ने लागेछ । त्यसो होइन देश बनाउने सपना दिउँसो नै देख्ने हो । शहीदको सपनालाई पूरा गर्न देश विकास गर्नैपर्ने सपना देख्नुपर्छ ।

प्रधानमन्त्री ओलीले सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ भूलबस नभई सुविचारित ढंगले जानीबुझी राखिएको प्रष्टीकरण दिए । जनताको प्रतिनिधि सरकारले मेरो सरकार भनेर अपनत्व लिएको दाबी गरे । उनले विपक्षी दलले महत्वहीन विषयलाई धेरै उचालेको भन्दै पहाड खन्दा मुसो फेला परेको भन्दै प्रतिपक्षी दललाई व्यंग्यसमेत गरे ।

प्रधानमन्त्री अ‍ोलीले भने, ‘सबभन्दा बढी बल त्यसमा लगाएको देखिन्छ जहाँ खन्यो, पहाड निल्यो, मुसो भने जस्तो यो पहाड खनेर मुसो पनि ननिक्लने विषयहरुमा बढ्दा ध्यान र जोड के के न पाए जस्तो गरेर उधुम नै मच्चाएको पनि मैले पाएँ ।’

बेलायतकी महारानीको जस्तो सम्बोधन भन्नु कुटनीतिक मर्यादा विपरीत हुने भन्दै त्यसतर्फ ध्यान दिन विपक्षी दलका नेतालाई आग्रह गरे । विपक्षी दलका नेता शेरबहादुर देउवाले राष्ट्रपतिले बेलायती महारानीको जस्तो सम्बोधन गरेको टिप्पणी गरेका थिए ।

‘प्रतिपक्षीलाई आफ्नो सरकार भन्न अलि गाह्रै हुन्छ होला । नेपाल सरकार भन्न त सजिलै छ । त्यो गाहो हुँदैन,’ उनले भने, ‘प्रतिपक्षीले पनि यो सरकारलाई त आफ्नै सरकार भने हुन्छ । अब बजेट हेर्नुहोला न प्रतिपक्षका लागि बजेटमा कति काम हुन्छ । अनि आफ्नो सरकार भन्न के भो र ?’

प्रधानमन्त्री ओलीले संविधान संशोधन भनेको जुनसुकै मौसममा पनि गाउन मिल्ने गीत नभएको भन्दै आवश्यकता र औचित्यका आधारमा संशोधन गर्न सकिने स्पष्ट पारे । अनावश्यक ढंगले संविधान संशोधनको विषयलाई उचाल्न आवश्यक नरहेको भन्दै उनले उद्देश्य र आवश्यकताअनुसार संशोधन गर्न सकिने बताए । उनले भने, ‘संविधान संशोधन भनेको जुनसुकै मौसममा पनि गाउन गीत भयो । अहिले पनि संविधान संशोधन । भरे पनि संविधान संसोधन । कुन विषयमा ? त्यो त छलफल गर्न सकिन्छ नि । कुन कुन विषयमा गर्नुपर्यो संशोधन । के के मा आवश्यकता पर्यो । पब्लिक कन्जम्सनका लागि सधै एउटा भन्ने कुरा जस्तो भयो । यस्तो नगरौँ ।’

नीति तथा कार्यक्रमले राति देख्ने सपना नभई देश बनाउने र भविष्य बनाउने सपना देखेको जिकिर गरे । ‘यहाँ देश बनाउने कुराको सपना हो । हाम्रो भविष्यको सपना हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यो निदाएको बेला देख्ने सपना होइन । जागै हुँदा देख्ने सपना हो । शहीदको सपना भनेको निदाएर घुरेर देख्ने सपना हो ?’

प्रदेशका स्थानीय तहका सरकारले के कति काम गर्ने भन्ने अभ्यास स्थापित गर्नुपर्ने भन्दै उनले त्यसतर्फ सरकार गम्भीर रहेको बताए । प्रदेश सरकार संघीय सरकारकै मातहतमै हुने भन्दै प्रधानमन्त्री ओलीले त्यसमा धेरै नअलमलिन आग्रह गरे । ‘म हिजो सुन्दै थिएँ, भन्दै हुनुहुन्यो, प्रदेश सरकार मानिलिउँ केन्द्रको मातहत हो कि जस्तो व्यवहार भएको छ भनेर,’ प्रधानमन्त्री ओलीले भने, ‘केन्द्रको मातहत नै हो । संघीय सरकारका मातहतमै संघीय कानुनका मातहतमै प्रदेश सरकार र स्थानीय सरकारहरु हुन्छन् । यो पनि कुनै अनौठो कुरा हो र भन्या ? स्वतन्त्र सरकार त होइनन् नि । यस्ता कुराहरुमा अलमल राख्नु हुदैन ।’

विगतमा भएको भ्रष्टाचारको छानविन आफ्नो सरकारले गरिरहेको पनि दाबी गरे । प्रधाानमन्त्री ओलीले भने, ‘यो सरकार बनेपछि खुला मञ्च मास्या हो र ? अहिले त्यो खुलामञ्चलाई फिर्ता ल्याउने काम हुँदैछ । अहिले बालुवाटारको जमिनको समस्या पैदा भएको हो ? अहिले त छानविन हुँदैछ । वाइडवडीको कारोवार अहिलेको सरकार आएर गर्या हो ? छानविन हुदैछ अहिले ।’

सरकारले एक बर्षका लागि मात्रै नभई दूरगामी दृष्टिका साथ नीति तथा कार्यक्रम ल्याएको दाबी पनि गरे । राष्ट्रलाई समृद्ध बनाउन संविधानले सुम्पेको अभिभाराअनुसार सामाजिक न्याय र समानताको बाटो नीति तथा कार्यक्रमले दाबी गरे । विगतमा पनि बहुमतका सरकार भएको तर स्थिरता र स्थायित्व नभएको भन्दै प्रधानमन्त्री ओलीले शान्ति र स्थायित्वलाई बुझेको वर्तमान सरकारले नीतिगत स्पष्टता, अग्रगामी सोंच र अठोटसहितको स्थिरता र स्थायित्वका कुरा नीति तथा कार्यक्रममा ल्याएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: