‘खेलमा अनुशासन थियो, राजनीतिमा रहनेछ’ (भिडियोसहित) « Nagarik Khabar

‘खेलमा अनुशासन थियो, राजनीतिमा रहनेछ’ (भिडियोसहित)



कृशला घिसिङ रामेछापको दोरम्बा गाउँपालिकाकी उपाध्यक्ष हुन् । दुई वर्षअघिसम्म उनको परिचय खेलाडीको रुपमा मात्रै सीमित थियो । २०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमार्फत उनी पालिका प्रमुखमा निर्वाचित भएकी हुन् ।

अल्लारे उमेर, खेलाडी पृष्ठभूमि र कलेज पढ्दा पढ्दै राजनीतिमा होमिएकी कृशला अहिले जनप्रतिनिधिको भूमिकामा छिन् । मार्शल आर्टअन्तर्गतको च्यान्वारा खेलकी खेलाडी क्रिसला कति पटक राष्ट्रिय झण्डा लिएर नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय एरिनामा उत्रिएकी छिन् । ती प्रतियोगिताहरुमा उनले नेपाललाई अन्तर्राष्ट्रिय पदक समेत दिलाएकी छिन् ।

उनले सन् २०१२ मा जापानमा भएको च्यान्वारा विश्वकपबाट समेत नेपाललाई पदक दिलाइन् । त्यसपछिका केही समय उनी प्रशिक्षकको रुपमा समेत रहिन् ।

त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रमा स्नातकोत्तरं गर्दै गरेकी कृशलाको यो दैनिकी अहिले फेरिएको छ । नेपालको प्रतिष्ठा उँचो राख्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको झण्डा लिएर उत्रने उनी सर्वसाधारणको समस्या बुझ्न गाउँगाउँ चहार्छिन् । गाउँलेका समस्या बुझ्न र समाधान गर्न प्रयासरत हुन्छिन् ।

फेरिएको यो जिम्मेवारी र भूमिकामा उनी आफैँले के महसुस् गरेकी छिन् ? उनको अनुभव उनकै शब्दमा ।

०००

पहिले खेलाडीको रुपमा मात्रै चिनिन्थेँ । अहिले जनप्रतिनिधिको रुपमा पनि चिनिएकी छु । मार्शल आर्टअन्तर्गतको खेल च्यानबारा भर्खरै नेपाल भित्रँदा खेलेकी थिएँ । सन् २००९ मा उक्त खेल खेल्न सुरु गरेकी हुँ । त्यसको एक वर्षपछि नै जापानमा विश्व च्याम्पियनसिपमा खेल्ने अवसर पाएँ । विश्व च्याम्पियनसिपदेखि एसियान च्याम्पियनसीप र अन्य प्रतियोगितामा गरी १२/१३ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छु । सन् २०१६ सम्म सक्रिय रुपमा खेलाडी नै थिएँ ।

खेलसँगै पढाइलाई पनि अघि बढाइरहेकी थिएँ । पढाइ अझै जारी छ । पढाइकै सिलसिलामा कुनै एक सामाजिक क्षेत्रसँग अवद्ध भएर समाजका लागि काम गर्नुपर्छ भन्ने प्रेरणा पाएकी थिएँ । त्यसैले शिक्षाकै लागि विदेश जाने अवसर पनि त्यागें ।

त्यसमा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा अवसर पाएँ । यहीँ निर्वाचनबाट दोरम्बा गाउँपालिकाको उपाध्यक्ष निर्वाचित पनि भएँ । मैले सोचेको जस्तो सामाजिक काममा संलग्न हुन राजनीतिनै राम्रो माध्यम हो । त्यहीअनुसार भयो पनि । त्यसमा घर परिवारको साथ पनि रह्यो । सबैले विश्वास पनि गर्नुभयो । सबैभन्दा बढी मत ल्याएर चुनिएकी थिएँ ।

खेलाडी हुनु र गाउँपालिकाको उपाध्यक्ष निर्वाचित हुनुमा धेरै फरक रहेछ । यद्यपि, एउटा समानता के भेटेको छु भने खेलाडीको हैसियतमा प्रतिस्पर्धा गर्दा सधैँ राष्ट्र अगाडि आउँथ्यो । प्रतिस्पर्धामा भाग लिएपछि कसरी आफ्नो देशलाई जिताउने भन्ने सोचाइ आउँथ्यो । अहिले गाउँपालिका उपाध्यक्ष भएपछि गाउँको नाम अगाडि आउँछ । यो ठाउँको विकास कसरी गर्न सकिन्छ भन्ने सोचाइ आउँछ ।

यसमा पनि फरक भनेको खेलाडीको रुपमा आफ्नो तयारीबारे मात्रै सोच्दा हुन्थ्थो । गाउँपालिका उपप्रमुखको रुपमा समग्र समग्र गाउँबारे सोच्नु पर्ने हुन्छ ।

यसमा धेरै खालका चुनौती छन् । समस्या पनि आउँछन् । संघीय संरचनाको पहिलो प्रयास भएकाले पनि अहिले हामीले काम गर्दा त्यस्ता धेरै समस्या र चुनौतीहरू आएका हुन् । यद्यपि, चुनौतीलाई अवसरको रुपमा प्रयोग गर्न सक्नुपर्दछ । हामीले आँटेका कामहरूमा अहिलेसम्म सबैको साथ र सहयोगले सफलता पनि मिलिरहेको महसुस भएको छ ।

‘राष्ट्रको लागि खेलकुद, स्वस्थ्यका लागि खेलकुद’ भन्ने नारा नै छ । खेलकुद भनेको अनुशासन पनि हो । खेलाडीको सफलता उसले अनुशरण गर्ने अनुशासनमै भर पर्दछ । खेलकुदमा खेलको नियम मान्नै पर्छ । यी कुराहरू राजनीतिमा भने त्यति लागू भएको पाउँदिन ।

खेलाडीहरू जित्नै पर्छ भनेर खेल्छन् । राजनीतिमा मैले गर्नै पर्छ भनेर गरेको देखिँदैन । अनुशासन पालना गरेको देखिँदैन । खेलकुद पृष्ठभूमि भएकाले कम्तीमा मैले यो कुरालाई पालना गर्ने प्रयास गरेकी छु । राजनीतिमा प्रवेश गर्दैगर्दा नै मैले त्यही प्रण गरेकी थिएँ कि कुनै राजनीतिक कार्यकर्ता वा स्थानीय तहको जनप्रतिनिधि जुनै हैसियतमा पनि मैले खेलाडी हुँदा अपनाएका अनुशासन पालना गर्नेछु ।

खेलाडी भएको नाताले यसमा म आफैँलाई केही हदसम्म सजिलो पनि भएको छ । अहिलेसम्म राजनीतिमा अनुशासन पालना गर्न चुकेकी छैन । भविष्यमा पनि यसलाई निरन्तरता दिनेछु ।

अहिले हाम्रो कार्यकाल दुई वर्ष बितिसकेको छ । अझै तीन वर्ष बाँकी छ । अघिल्ला वर्षहरूमा पनि धेरै काम भएका छन् । तर, यो अवधिमा हाम्रा लागि धेरै सिक्ने अवसर बन्यो । यही सिकाइले आगामी तीन वर्षमा अझ प्रभावकारी तरिकाले काम गर्न विश्वास बढेको छ ।

नयाँ परिवर्तनपछि जारी भएको संविधानले धेरै नै अवसरहरू दिएका छन् । त्यसैले अहिले महिलाहरू विभिन्न निकायहरूमा धेरै निर्वाचित भएका छन् । यसमा खेलाडीहरू पनि धेरै परेका छन् । युवाहरूमा केही गर्नुपर्छ र गर्न सक्छु भन्ने भावना हुन्छ, त्यसमा उनीहरूले अवसर पाइरहेका थिएनन् । यो संविधानले त्यस्ता युवाहरूलाई अवसर दिएको छ ।

चुनावी प्रतिस्पर्धामा जाँदै गर्दा केहीले शिक्षित युवा आएको छ । उसले केही गर्छ भन्ने प्रतिकृया दिए । कतिपयले भने अनुभवी पाकाहरूले त गर्न सकेनन्, यी केटाकेटीहरूले के गर्लान् पनि भने । सानो उमेर भएकाले नपत्याएका होलान् । तर, अहिले जुन किसिमका योजना र भिजन लिएर गाउँ गएकी छु, जनताले त्यो हेर्नुभयो । हाम्रो कार्यशैली हेर्नुभयो । अहिले हो, यिनीहरूले गर्न सक्दो रहेछ भनेर भन्नुभएको छ ।

राजनीतिक क्षेत्रमा अघि बढ्न पनि खेलाडी पृष्ठभूमिले सहयोग पु¥यायो । अन्तर्राष्ट्रिय पदक जितेर आएको खेलाडी हो, उसले केही गर्नसक्छ भन्ने प्रतिकृया धेरैले दिनुभएको थियो । बरु, भर्खरै राजनीतिमा प्रवेश गरेको मान्छे र सानो उमेरको मान्छे भनेर चाहिँ मान्छेहरूले केही गर्न सक्दैन कि भन्ने खालको आशंका व्यक्त गरेका थिए ।

नागरिकमा भएको उक्त सोचाइलाई हटाउन निक्कै मेहनत गरेँ । मेरो गाउँपालिकालाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर काम गरिरहेकी छु । कतिपय अवस्थामा कमिकमजोरी हुन्छन् । ती कमिकमजोरी र आलोचनालाई पनि सुझावको रुपमा लिएर अघि बढिरहेको छु ।

गाउँपालिकाभित्र आफैँ पनि खेलाडी भएकाले खेलकुदलाई प्राथमिकतामा राखेर काम गरिरहेकी छु । हरेक वडामा खेल मैदान बनाउने, एउटा पालिका स्तरीय रंगशाला बनाउने योजना अघि सारेकी छु । कतिपय स्थानहरूमा खेल सामग्रीहरू उपलब्ध गराउने काम गरेका छौं । हामीले ११ जिल्लाको सहभागिता रहेको प्रदेश ३ स्तरीय उपाध्यक्ष कप तेक्वान्दो प्रतियोगिताको आयोजना ग¥यौं । हाम्रै गाउँमा अहिले २÷३ सयको हाराहारीमा तेक्वान्दो खेलाडी उत्पादन भएका छन् ।

साथै गाउँपालिका स्तरीय खेलकुद विकास समिति बनाउने प्रकृयामा छौं । जसमा म आफै संयोजक रहेर हरेक योजना निर्माणको काम अघि बढाउने छु । आगामी आर्थिक वर्षमा खेलकुद विकास समितिमार्फत विभिन्न कार्यक्रम तय गरेर खेलकुदमार्फत कसरी गाउँ र त्यहाँको पर्यटन विकास गर्न सकिन्छ भन्ने कुरामा जोड दिएर अघि बढ्ने छौं ।

हालै मात्र शैलुङ महोत्सव सम्पन्न भएको छ । हामी सबै दृष्टिकोणबाट हाम्रो गाउँपालिकालाई समृद्ध बनाउनु पर्छ भनेर अघि बढिरहेका छौं । हिजो खेलाडी भएर देशलाई चिनाउने र आज गाउँपालिका उपप्रमुख भएर आफ्नो गाउँलाई कम्तीमा राष्ट्रिय स्तरमा चिनाउने अवसर पाएको छु । यसमा गर्व लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: