सत्तारुढ दलकै सांसद भन्छन्, ‘विदेशीले पनि नागरिकता लिए’  (भिडियोसहित) « Nagarik Khabar

सत्तारुढ दलकै सांसद भन्छन्, ‘विदेशीले पनि नागरिकता लिए’  (भिडियोसहित)



काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामनारायण विडारीले विदेशीले पनि नेपाली नागरिकता लिएको दावी गरेका छन् । उनले त्यस्ता नागरिकता खारेज गर्नका लागि सरकारसंग माग गरे । काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै बिडारीले विदेशीले पनि नेपाली नागरिकता लिएकाले त्यस्ता नागरिकता खारेज गर्नुपर्नेमा जोड दिएका छन् । 

काठमाडौंमा मंगलबार आयोजित ‘नागरिकता विधेयकः समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा विदेशी नागरिकले नागरिकता लिएको पाइएको उल्लेख गर्दै त्यसको छानवीन गरी दोषीमाथि कार्वाही गर्न ढिलाई गर्न नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

सांसद बिडारीले नेपाली नागरिकले विवाह गरेका विदेशी महिलालाई हतारमा नागरिकता नदिने कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । नागरिकताको विषय मुलुकको राष्ट्रियतासँग जोडिएकाले यसलाई जथाभावी वितरण गर्न नहुने उनको भनाई छ ।

सत्तारुढ नेकपाकै प्रतिनिधिसभाका सदस्य झपड रावलले अंगीकृत नागरिकका सन्तानलाई सात पुस्तापछि मात्रै वंशजको आधारमा नागरिकता लिने व्यवस्था गर्न सरकारलाई सुझाव दिए । उनले नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई नेपालमा बसोबास गरेको १० वर्ष पछिमात्रै नागरिकता दिने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।

कार्यक्रममा बोल्दै पूर्व महान्यायाधिवक्ता युवराज संग्रौलाले नेपालमा नागरिकता वितरणको समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाउन सरकारलाई सुझाव दिए । उनले नागरिकता नागरिकले लिने भएकाले यसलाई महिला र मधेशीसँग जोडेर हेर्न नहुने पनि स्पष्ट पारे ।

पूर्व महान्यायाधिवक्ता संग्रौलाले नेपालको राष्ट्रियता खतरामा पर्ने भएकाले पनि नागरिकता वितरणको कामलाई कडा निगरानीका साथ अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: