श्रीलंका सबैभन्दा बुढो टोली, पाकिस्तान सबैभन्दा कान्छो टोली « Nagarik Khabar

श्रीलंका सबैभन्दा बुढो टोली, पाकिस्तान सबैभन्दा कान्छो टोली



लण्डन । १२औं संस्करणको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप यही महिनाको अन्त्यबाट (मे ३० देखी जुलाई १४) इङ्ल्यान्ड र वेल्समा सुरु हुदै छ । झण्डै एक महिनासम्म चल्ने विश्वकपमा १० टोलीले सहभागीता जनाउँदै छन् । क्रिकेट खेलको यो महाकुम्भ मेलाका लागि सहभागी देशहरूले आफ्नो टोलीको घोषणा गरिसकेका छन् । घोषित टोलीमा केही रोचक तथ्यहरू समेत जोडिएका छन् । त्यसमध्ये केही यस प्रकार छन्,

श्रीलंका सबैभन्दा बुढो टोली


क्रिकेट विश्वकप २०१९ मा सहभागी हुनेमध्ये श्रीलंका सबैभन्दा बुढो टोली ठहरिएको छ । टोलीमा सहभागी खेलाडीको उमेरअनुसार विश्वकप २०१९ मा सहभागी हुने सबै टोलीका खेलाडीहरूमध्ये श्रीलंकाली खेलाडीहरूको औसत उमेर बढी देखिएको हो । श्रीलंकाली खेलाडीहरूको औसत उमेर २९.९ रहेको छ । टोलीका अनुभवी खेलाडी लासिथ मालिङ्गा ३५ र सुरङ्गा लकमल ३२ वर्षका पुगेका छन् । ३१ वर्ष पुगेका पूर्वकप्तान एञ्जेलो माज्युज पनि विश्वकप टोलीमा फर्किएका छन् । श्रीलंकाले ३६ वर्षीय जीवन मेन्दिसलाई पनि विश्वकप टोलीमा समावेश गरेको छ । मेन्दिसले सन् २०१५ यता ५० ओभरको क्रिकेट खेलेकै छैनन् । यद्यपि अनुभवी खेलाडीको उपस्थितिले सन् १९९६ को विश्वकप विजेता टोलीको ‘ड्रेसिङ रुम’ बलियो देखिने छ ।

श्रीलंका भन्दा पछि दक्षिण अफ्रिका र आयोजकमध्येको एक इङ्ल्यान्डको टोली सन् २०१९ विश्वकप खेल्नेमध्ये बुढो टोलीमा परेका छन् । यी दुबै टोलीका खेलाडीहरूको औसत उमेर २९.५ रहेको छ । उनीहरू भन्दा अष्टे«लिया थोरै मात्र उमेरले युवा टोली देखिएको छ । अष्टे«लियाली खेलाडीहरूको औसत उमेर २९.४ रहेको छ । पछिल्लो समय यी तीनवटै टोलीले ५० ओभरको क्रिकेटमा सशक्त प्रदर्शन गरिरहेका छन् । यही प्रदर्शनलाई कायम राख्न सकेको अवस्थामा विश्वकपमा पनि यी टोलीले राम्रो नतिजा हात पार्न सफल हुने छन् ।

पाकिस्तान सबैभन्दा कान्छो टोली
विश्वकप क्रिकेट २०१९ मा सहभागी हुनेमध्ये सबैभन्दा कान्छो टोली पाकिस्तान बनेको छ । पाकिस्तानी खेलाडीहरूको औसत उमेर २७.३ छ । पाकिस्तानी टोलीका सबैभन्दा बुढो खेलाडी हुन्, सोएब मालिक । यद्यपि टोलीमा १९ वर्षका दुई खेलाडी शहिन शाह अफ्रिदी र मोहम्मद हस्नइन पनि समावेश छन्, यसले पाकिस्तानलाई सबैभन्दा कान्छो टोली बनाएको हो । थोरैले माथि परेपछि अफगानिस्तान सबैभन्दा कान्छो टोलीको सूचीको दोस्रो स्थानमा पुगेको छ । अफघानिस्तानका खेलाडीहरूको औसत उमेर २७.४ रहेको छ ।

अफघानिस्तान एकदिवसीय विश्वकप खेल्ने सबैभन्दा कान्छो टोली हो । यद्यपि सहभागी खेलाडीको उमेरअनुसार अफघानिस्तान सबैभन्दा कान्छो खेलाडी समावेश गर्ने टोलीको सूचीमा दोस्रो स्थानमा परेको हो । अफघानिस्तानसँग राम्रा खेलाडीहरूको उपस्थिति रहेको छ । विशेषगरी उत्कृष्ट युवा स्पिनरहरूको उपस्थितीले अफघानिस्तानलाई विश्वकपमा सशक्त टोलीको रुपमा हेरिएको छ ।

भारत सर्वाधिक क्याप जित्ने खेलाडी भएको टोली


भारत विश्वकप क्रिकेट २०१९ मा सहभागीमध्ये सबैभन्दा कम उमेरका खेलाडी समावेश भएको चौथो टोली हो । त्यसकासाथै भारत सबैभन्दा बढी क्याप जित्ने खेलाडी समावेश भएको टोली पनि हो ।

भारतले विश्वकप क्रिकेट २०१९ का लागि घोषणा गरेको टोलीमा समावेश सबै खेलाडीको क्याप जोड्ने हो भने, एक हजार पाँच सय ७३ क्याप हुनेछ । भारतले यो क्रममा बंगलादेशलाई पछि पारेको हो । भारतभन्दा दुई सय ७४ क्यापले पछि परेको बंगलादेश दोस्रो स्थानमा रहेको छ ।

भारतीय टोलीका खेलाडीमध्ये पनि सबैभन्दा बढी क्याप पूर्वकप्तान तथा विकेट किपर ब्याट्सम्यान महेन्द्र सिंह धोनीको रहेको छ । धोनीले अहिलेसम्म तीन सय ४१ एकदिवसीय खेल खेलेका छन् । उनीभन्दा पछि एकदिवसीय क्रिकेटको ब्याट्सम्यानको सूचीमा शीर्ष स्थानमा रहेका कप्तान बिराट कोहलीले दुई सय २७ क्याप जितेका छन् । उनीहरू भन्दा पछि ब्याट्सम्यान रोहित शर्माको दुई सय ६ क्याप जितेका छन् ।

सर्वाधिक सतक प्रहार गर्ने टोली भारत


विश्वकप क्रिकेट २०१९ मा सहभागी टोलीमध्ये भारत ५० ओभरको क्रिकेटमा सर्वाधिक सतक प्रहार गरेको टोली बनेको छ । विश्वकप २०१९ मा सहभागी हुन भारतले घोषणा गरेको सबै खेलाडीले ५० ओभरको क्रिकेटमा प्रहार गरेको सतक जोड्दा ९० सतक पुग्नेछ, जसमध्ये ४१ सतक कप्तान कोहली एक्लैले प्रहार गरेका छन् । कोहली भन्दा पछि प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले २२, शिखर धवनले १६ तथा पूर्वकप्तान धोनीले १० सतक प्रहार गरेका छन् ।

सर्वाधिक सतक प्रहार गर्ने टोलीको सूचीमा भारतपछि न्युजिल्याण्ड, दक्षिण अफ्रिका लगायत छन् । यद्यपि सतक प्रहार गर्ने धेरै खेलाडीलाई समाबेश गर्ने टोली भने आयोजक इङ्ल्यान्ड बनेको छ । इङ्लिस टोलीमा समावेश रहेकामध्ये सात खेलाडीले सतक प्रहार गरेका छन् । इङ्ल्यान्ड भन्दा पछि भारत, दक्षिण अफ्रिका र न्युजिल्यान्डको टोलीमा समावेश समान पाँच÷पाँच खेलाडीले मात्रै सतक प्रहार गरेका छन् ।

अफघानिस्तान र श्रीलंका यो सूचीमा सबैभन्दा पछि परेका छन् । दुबै टोलीको १२÷१२ सतक छ । यी दुई देशको भन्दा बढि त वेष्टइन्डियन क्रिकेटर क्रिस गेल एक्लैले प्रहार गरेका छन् । उनी एक्लैले एकदिवसीय क्रिकेटमा २५ सतक प्रहार गरेका छन् । यसमा स्मरण गर्नुपर्ने कुरा के भने, अफगानिस्तानले सन् २००९ बाट मात्रै एकदिवसीय क्रिकेट खेल्न सुरु गरेको हो ।

बंगलादेश र श्रीलंका सर्वाधिक विकेट लिने टोली


विश्वकप क्रिकेट २०१९ सुरु हुनु अघि बंगलादेश र श्रीलंका सर्वाधिक विकेट लिने टोलीमा परेका छन् । त्यसमा बंगलादेश शीर्ष स्थानमा रहेको छ । बंगलादेशी टोलीमा समावेश खेलाडीहरूले लिएको विकेट जोड्दा आठ सय २९ विकेट हुन्छ । बंगलादेशका मोस्रफे मोर्ताजा एक्लैले दुई सय ५९ विकेट लिएका छन् । बंगलादेशभन्दा पछि श्रीलंकाली विश्वकप टोलीमा समावेश खेलाडीहरूले आठ सय १५ विकेट लिएका छन् । श्रीलंकाका लागि अनुभवी बलर मालिङ्गा एक्लैले तीन सय २२ विकेट लिएका छन् । यो सूचीमा आरोन फिन्चको टोली अष्टे«लिया सबैभन्दा पछि परेको छ । सन् २०१९ विश्वकपमा समावेश उसका खेलाडीले एकदिवसीय क्रिकेटमा लिएको विकेट चार सय ९५ रहेको छ ।

स्रोत : आईसीसी

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: