सम्झौता नभएको विद्युत बिलको महशुल नतिर्ने उद्योगी व्यवसायीको चेतावनी « Nagarik Khabar

सम्झौता नभएको विद्युत बिलको महशुल नतिर्ने उद्योगी व्यवसायीको चेतावनी



काठमाडौं । डेडिकेटेड लाइनको सुविधा लिने सम्झौता नगरेका उद्योगहरुलाई त्यस सेवा लिएबापत महशुल असुल गर्न नेपाल विद्युत प्राधिकरणले गरेको पत्राचारप्रति निजी क्षेत्रका उद्योगी व्यवयासीहरुले आपत्ति जनाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी लोडसेडिङको बेला दिइएको डेडिकेटेड लाइनको विद्युत महशुल पनि असुल गर्न नेपाल विद्युत प्राधिकरणले हालै गरेको पत्राचारप्रति आपत्ति जनाएका हुन् । लोडसेडिङको बेला लिइएको ट्रंक तथा डेडिकेटेड लाइनको विद्युत महशुल पनि असुल गर्ने सरकारको पत्राचार सबै उद्योगहरुलाई धराशायी बनाउने गरी आएकाले त्यसप्रति आपत्ति जनाउनु परेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताइन् ।

‘डेडिकेटेड लाइनको सुविधा लिने सम्झौता नगरेका उद्योगहरुमा पनि त्यसको महशुल असुल गर्न पत्राचार गरिएको छ,’ राणाले भनिन्, ‘त्यस निर्णयलाई फिर्ता लिन सरकार र सम्बन्धित निकायसँग माग गर्दछौं ।’

बैंको चर्को व्याज दरका कारण समस्या परिरहेका उद्योगहरुलाई सरकारले फेरि थप विद्युत महशुल तिर्नुपर्ने पत्राचार गरेकोमा व्यवसायीहरुको आपत्ति छ । प्राधिकरणले सो पत्राचार फिर्ता नलिए सबै उद्योग बन्द हुने महासंघकी अध्यक्ष राणाले चेतावनी दिइन् । उनले विद्युत प्राधिकरणले डेडिकेटेड लाइन नलिएका उद्योगहरुलाई पनि महशुल असुल गर्ने पत्राचार गरेर दुःख दिएको दाबी गरिन् । २०७३ सालबाट बढाएको विद्युत महशुल हाल आएर सरकारले असुल गर्नु गलत भएको अध्यक्ष राणाको भनाइ छ ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले विद्युत महशुल विनियमावलीमा भएको व्यवस्थाविपरीत प्राधिकरणले पत्राचार गरेकाले सो महशुल नतिर्ने स्पष्ट्याए । उनले डेडिकेटेड लाइन लिन सम्झौता गरेर उद्योगहरुसँग सो महशुल लिनु स्वभाविकै हुने भए पनि नलिएकाहरुबाट असुली गर्न नमिल्ने दाबी गरे ।

सिमेन्ट, फलाम र होटल व्यवसायनै धराशायी हुने गरी सरकारले सो महशुल असुलीका लागि पत्राचार गरेको भन्दै नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: