मुम्बई आईपीएलको फाइनलमा « Nagarik Khabar

मुम्बई आईपीएलको फाइनलमा



चेन्नाई । मुम्बई इन्डियन्स, इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायर खेलमा चेन्नाई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै मुम्बई प्रतियोगिताको उपाधि नजिक पुगेको हो ।

चेन्नाईलाई भने फाइनलमा प्रवेश गर्न दोस्रो क्वालिफायर खेल खेल्नुपर्ने भएको छ । दोस्रो क्वालिफायर खेलमा चेन्नाईको भेट दिल्ली क्यापिटल्स र सन राइजर्स हैदरावादबीच बुधबार हुने इलिमिनेटर खेलको विजेतासँग हुने छ ।

चेपोक स्थित आफ्नै मैदानमा टस जिती पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३१ रनको योगफल तय गरेको थियो । यद्यपि मुम्बईले १८.३ ओभरमा मात्र चार विकेट गुमाएर जित पक्का गरेको थियो । मुम्बईको जितमा सुर्यकुमार यादवले ५४ बलमा अविजित ७१ रनको योगदान गरे । उनले आफ्नो पालीमा १० चौका प्रहार गरेका थिए ।

हार्दिक पाण्ड्या १३ रनमा अविजित रहँदा इशान किसानले २८ रन जोडेका थिए । यस्तै चेन्नाईलाई सहज योगफलमा समेट्न राहुल चहर एक्लैले दुई विकेट लिएका थिए । जयन्त यादव र हार्दिक पाण्ड्याले एक/एक विकेट लिएका थिए ।

चेन्नाईका लागि भने अम्बाती रायडुले ३७ बलमा ४२ तथा कप्तान महेन्द्र सिंह धोनीले २९ बलमा ३७ रनको महत्वपूर्ण योगदान दिए पनि टोलीको जित सम्भव भएन । कप्तान धोनीले आफ्नो पालीमा तीन छक्का प्रहार गरेका थिए । यस्तै रायडुले एक छक्का र तीन चौका प्रहार गरेका थिए । मुरली विजयले २६ बलमा २६ रनको योगदान गर्दा शेन वाटसन आठ रनमा आउँट भए । चेन्नाईका इमरान ताहिरले मुम्बईको दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: