अन्तरजातीय विवाह गर्दा छोरी ज्वाइँलाई जिउँदै जलाइयो « Nagarik Khabar

अन्तरजातीय विवाह गर्दा छोरी ज्वाइँलाई जिउँदै जलाइयो



अहमदनगर । रुक्मिणी रणसिंघे १९ वर्षकी मात्र थिइन् । ६ महिना पहिले उनले आफूले मन पराएका प्रेमीसँग प्रेम विवाह गरिन् । तर रुक्मिणीको विवाहलाई लिएर परिवार खुसी थिएनन् ।

किनकि पतिसँग उनको जात मिल्दैनथियो । यस कुराको असमझदारी यतिसम्म बढ्यो कि एक दिन रुक्मिणीका बाबु, काका र मामा मिलेर उनका पतिलाई जिउँदै जलाइददिए । आफ्नो परिवारको आक्रोशको मूल्य रुक्मिणी आफैंले पनि ज्यान दिएर चुकाइन् ।

महाराष्ट्रको अहमदनगरको यो घटनाले ‘अनर किलिङ’ को मामिलालाई फेरि एकपटक सबैका सामू ल्याइदिएको छ । रुक्मिणी अनुसूचित जाती (एससी) मा पर्ने पासी जातिकी थिइन् भने उनका पति मंगेश अन्य पिछडा वर्ग (ओबीसी) मा पर्ने लौहार जातिका थिए ।

रुक्मिणीका पिता र परिवारका अन्य सदस्यहरू यो विवाहको विरूद्धमा भएपनि मंगेशका परिवारका सदस्यहरूले विवाहलाई स्वीकार गरेका थिए । रुक्मिणीका देवर महेश रणसिंघेले उनीहरूको विवाहमा रुक्मिणीको माइती पक्षबाट उनकी आमा मात्र आएको बताएका छन् ।

महेशले भने, ‘विवाहपछि पनि रुक्मिणीका घरका सदस्यहरूले यो नाताको विरोध गरिरहेका थिए । मंगेश र रुक्मिणीलाई सडकमासँगै देख्दा उनीहरू धम्की दिन्थे । त्यसबाट हैरान भएर मंगेश र रुक्मिणीले गत फेब्रुअरीमा अहमदनगरस्थित परनेर प्रहरी चौकीमा उजुरी दर्ता गराएका थिए ।’

तनावकाबीच ३० अप्रिलमा रुक्मिणीका माता–पिताले उनलाई आफ्नो घर बोलाए । घर गएपछि उनीहरूले रुक्मिणीलाई पिटे । पिटाइ खाएपछि रुक्मिणीले त्यसैरात मंगेशलाई फोन गरेर परिवारका सदस्यहरूले आफूलाई पिटेको जानकारी दिइन् ।

उनले मंगेशलाई आफ्नो माइतीमा आएर लिएर जान आग्रह गरिन् । त्यसको भोलिपल्ट मे १ मा मंगेश रुक्मिणीको माइत पुगे । त्यसबेला उत्तरप्रदेशमा बस्ने रुक्मिणीका काका र मामा पनि आएका थिए । रुक्मिणीको विवाहलाई लिएर ठूलो झगडा भयो । रुक्मिणीका काका र मामाले रुक्मिणी र उनका पतिलाई कुटपिट गरे ।

कुटपिटपश्चात् उनीहरूले दुवै जनालाई डोरीले बाँधेर पेट्रोल छर्किएर आगो लगाइदिए र घरभित्र थुनेर ढोका पनि लगाइदिए । महेश रणसिंघेका अनुसार घरबाट आएको दर्दनाक चित्कार सुनेपछि छिमेकीहरू घटनास्थल पुगेका थिए । उनीहरूले एम्बुलेन्स बोलाएर मंगेश र रुक्मिणीलाई उद्दार गरी पुणे लगेर ससून अस्पतालमा भर्ना गरे ।

आगोले जलेर घाइते भएकी रुक्मिणीको तीन दिनपछि ५ मेमा मृत्यु भयो । उनको शरीरको ६० देखि ६५ प्रतिशत भाग जलेको थियो । मंगेशको अवस्था गम्भीर छ । उनको ४० देखि ४५ प्रतिशत शरीर जलेको छ । आजको राजधानी दैनिकले विदेश पृष्ठमा यो समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: