कोटेश्वर–कलङ्की सडक मर्मत शुरु « Nagarik Khabar

कोटेश्वर–कलङ्की सडक मर्मत शुरु



काठमाडौं । कोटेश्वर–कलङ्की सडकमा बालकुमारी, ग्वार्खाे, महालक्ष्मीस्थानलगायतका स्थानमा मर्मतको काम शुरु भएको छ । गत पुसमा चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि यहाँको सडकमा मर्मत शुरु भएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । मर्मत अवधि एक वर्षको हुने योजनाका सूचना अधिकारी इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । उहाँका अनुसार यी तीन स्थानमा कालोपत्र पग्लने, उप्कनेलगायतका समस्या देखिएकाले मर्मतको काम भइरहेको हो । उहाँले भन्नुभयो, “सडकमा सबैभन्दा माथिल्लो तहको कालोपत्र उप्काएर काम भइरहेको छ ।”

सडक, पुललगायतका संरचनामा कुनै पनि खालको समस्या आउँदा एक वर्षसम्म त्यसको मर्मतको जिम्मेवारी ठेकेदार कम्पनीको नै हुने इञ्जिनीयर शर्माले बताउनुभयो । उहाँका अनुसार चिनियाँ निर्माण समूह सङ्घाई निर्माण सेवा समूहले पनि यहाँको सडकमा अहिले निरीक्षणको काम गरिरहेको छ । उहाँले भन्नुभयो, “कुनै पनि खालको समस्या आउँदा उनीहरुले तुरुन्त काम गरिहाल्छन् ।”चक्रपथको पहिलो चरण कोटेश्वर–कलङ्की सम्पन्न भएसँगै चीन सरकारले दोस्रो खण्ड (कलङ्कीदेखि महाराजगञ्ज) को पूर्वसम्भाव्यता अध्ययन गरिरहेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: