सीमा प्रहरी चौकी छ, प्रहरी छैनन « Nagarik Khabar

सीमा प्रहरी चौकी छ, प्रहरी छैनन



मुगु । मुगम कामारोङ गाउँपालिका–२ स्थित सीमा प्रहरी चौकी गत मंसिरदेखि प्रहरीविहीन रहेको छ। जाडोका कारण मंसिरदेखि जिल्लामा ल्याइएका सुरक्षाकर्मीलाई फागुनसम्ममा फर्काइसक्नुपर्ने भए पनि हालसम्म फिर्ता नगरिएकाले सो चौकी प्रहरीविहीन भएको हो।

तिब्बतसँग जोडिएको नाक्च्यालाग्ना नाकामा सरकारले सीमा सुरक्षाका लागि नेपाल प्रहरीको सुरक्षा पोस्ट राख्दै आएको छ। सो प्रहरी चौकीमा प्रहरी नायब निरीक्षकको कमान्डमा १९ जनाको दरबन्दी रहेको छ। तर हाल चौकीमा ताला लगाइएको छ भने सीमा प्रहरी कार्यालय चौपाया र बच्चाको मनोरञ्जन गर्नेे स्थान बनेको छ । मुगु गाउँमा अत्यधिक हिमपात हुने र चिसो बढ्ने भएकाले मंसिरदेखि फागुनसम्म सुरक्षाकर्मीलाई जिल्लामा ल्याइने गरेको छ। विगतका वर्षमा फागुनमै सुरक्षाकर्मीलाई फर्काउने गरिएको भए पनि यसपटक वैशाख अन्तिम सातासम्म नपठाइएको भन्दै स्थानीयले गुनासो पोखेका छन्।

अन्तरदेशीय सीमासँग जोडिएको मुगु जिल्लाको एक मात्र सीमा प्रहरी चौकीमा मंसिरदेखि सुरक्षाकर्मी नहुँदा गाउँ, बस्ती र सीमामा समस्या आउने गरेको र समाधानमा अप्ठ्यारो भइरहेको स्थानीय बताउँछन्।यो समाचार आजको नागरिक दैनिकमा प्रकासित भएको छ । 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: