कांग्रेसको राष्ट्रिय जागरण अभियान आजदेखि सुरु « Nagarik Khabar

कांग्रेसको राष्ट्रिय जागरण अभियान आजदेखि सुरु



काठमाडौं । सरकार विरुद्ध खबरदारी गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्दैछ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले जनतालाई ढाँटेको र गलत काम गरेकाले त्यसका विरुद्ध खबरदारी गर्न जागरण अभियान शुरु गर्न लागेको जानकारी दिए ।

‘सरकार यतिबेला जनताको पक्षमा काम गर्नुभन्दा पनि जनतालाई ढाँटेर बसेको छ, कसैका कुरा नसुन्ने अवस्थामा पुगेको छ त्यसकारण कांग्रेसले जागरण अभियान मार्फत जनता जगाउने काम गर्नेछ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने सरकारका गलत काम कारबाहीलाई जनतामाफ लैजान र पार्टी संगठनलाई थप सुदृढीकरण गर्न आजबाट जागरण अभियान सुरु गरिदैछ ।’

काठमाडौँमा केन्द्रीय सभापति शेरबहादुर देउवाले एक समारोहबीच उद्घाटन गर्नेछन् । अन्य ७६ जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट जिम्मेवारी प्राप्त केन्द्रीय नेतृत्व या प्रतिनिधिहरुले उद्घाटन गर्ने पार्टी प्रवक्ता  शर्माले जानकारी दिए । तीन चरणमा हुने अभियानको प्रथम चरण यही वैशाख २५ गते प्रारम्भ भई आगामी जेठ २५ गते समापन हुनेछ । त्यस्तै दोस्रो चरण भदौ २४ गते (बिपी जयन्ती) दिन प्रारम्भ भई असोज ७ गते समापन हुने भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (मेलमिलाप दिवस) समापन हुनेछ । प्रथम चरण ७७ जिल्लामा, दोस्रो चरण ३३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरण ७५३ स्थानीय तहमा हुनेछ कार्यक्रम तालिका छ ।

 

उनका अनुसार कांग्रेसले नयाँ कार्यशैलीका साथ ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ शुरु गर्दैछ । अभियानका लागि मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली गरी १२ भाषामा पार्टीको जागरण गीतको व्यवस्था गरेको प्रवक्ता शर्माले जानकारी दिए । आज अलगअलग प्रदेशका जिल्लामा प्रमुख नेताले सम्बोधन गर्दैछन् । अभियानमार्फत पार्टीको नीति, कार्यक्रम र संशोधित विधानबारे छलफल गर्ने उद्देश्य पनि कांग्रेसले राखेको छ ।

कांग्रेसले राष्ट्रिय जागरण अभियानका क्रममा विद्यार्थी र युवालाई केन्द्रीत गरेर गरेर प्रशिक्षण दिने भएको छ । पार्टी उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले नयाँ पुस्ताप्रति पार्टीको आकर्षण बढाउन युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गर्न लागेको हो ।

‘नयाँ पुस्तामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, नेपाली कांग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलन, पार्टीको आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूको जीवनी, नेतृत्वको योगदान, नेपालको परिचय, इतिहास, संस्कृति, सम्पदा आदि विषयमा जानकारी दिन सो अभियान थालिएको हो,’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसमा नयाँ पुस्तालाई आकर्षण गराउन १३ देखि १८ वर्षका विद्यार्थीका लागि र १९ देखि २८ वर्ष उमेर समूहका लागि विशेष कार्यक्रम तर्जुमा गरी सञ्चालन गरिनेछ ।’

पार्टीका महाधिवेशन प्रतिनिधिको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम देशका सातवटै प्रदेशमा आयोजना गर्ने जनाउँदै उसले भनेको छ, ‘सातवटै प्रदेशका पार्टीका प्रदेशसभा सदस्यका लागि प्रदेशस्तरीय संवाद र प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: