ऐतिहासिक कमब्याकसँगै लिभपुर फाइनलमा, बार्सिलोना बाहिरीयो « Nagarik Khabar

ऐतिहासिक कमब्याकसँगै लिभपुर फाइनलमा, बार्सिलोना बाहिरीयो



लण्डन । लिभरपुलका खेलाडी आफ्नो टाउकोमा हात लाएर बसिरहेका थिए । सायद उनीहरूलाई खेलको नतिजामा विश्वास लागिरहेको थिएन । तीमध्येका एक जेम्स मिल्नरको आँखाबाट आँसु झरिरहेको थियो ।

लिभरपुलले मंगलबार युरोपियन क्लब फुटबलमा जादू नै ग¥यो । त्यही दृश्य पत्याउन खेलाडीलाई मात्रै हैन, लिभरपुलका समर्थकलाई पनि मुस्किल परिरहेको थियो । युरोपियन च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगको खेलमा लिभरपुलले गत साता बार्सिलोनासँग ३–० को पराजय बेहोरेको थियो । युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुग्न लिभरपुललाई मंगलबारको दोस्रो लेगको खेलमा त्यो नतिजालाई उल्टाउनु थियो ।

तर, घरेलु इङ्लिस प्रिमियर लिगको उपाधि होडमा म्यानचेस्टर सिटीले दिएको दबाब झेलिरहेको लिभरपुलका लागि सोमबार नै खराब समाचार आएको थियो । उसका दुई महत्वपूर्ण खेलाडीद्वय मोहम्मद सलाह र रोबर्टाे फिर्मिनो बार्सिलोनाविरुद्व खेल्न नसक्ने गरी चोटग्रस्त बनेका थिए । यो अवस्थामा लिभरपुललाई सम्भवत आफ्नो खेल जीवनकै उत्कृष्ट लयमा रहेका लियोनल मेसी र उनको टोली बार्सिलोनाको सामना गर्नुपरेको थियो ।

असम्भव मानिएको यो अवस्थामा लिभरपुल मंगलबार आफ्नो मैदानमा ४–० को जित निकाल्दै युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्न सफल भयो । युरोपेली क्लब फुटबलमा ऐतिहासिकमध्येको एक उत्कृष्ट कमब्याकसँगै लिभरपुलले समग्रमा ४–३ गोलको जित रच्यो । यससँगै लिभरपुल लगातार दोस्रो सिजन युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफल भएको छ ।

मंगलबार लिभरपुलले जुन फुटबल खेल्यो यसले फुटबल प्रेमीहरूलाई जादूमा विश्वास गर्न बाध्य बनायो । लिभरपुलको यो खेललाई कसरी ब्याख्या गर्ने त ?

‘हामीलाई थाहा छ । यो क्लब भावना, इच्छा र गुणस्तरीय फुटबलको मिश्रणले बनेको क्लब हो’, लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले भने, ‘मेरा लागि यो क्लबसँग ठूलो मुटु छ र आज राती यो मुटु निक्कै उत्तेजित भएर धढ्किरहेको छ । त्यो धढ्कन तपाईले अहिले विश्वभरी महसुस् गर्न सक्नुहुने छ ।’

लिभरपुल अव युरोपियन च्याम्पियन्स लिगको उपाधिबाट मात्रै एक जित टाढा छ । र, यस पटक लिभरपुलले उपाधि जित्न सकेको अवस्थामा यो उसका लागि समग्रमा च्याम्पियन्स लिगको छैटौ उपाधि हुने छ ।

लिभरपुलले जव ३–० को अग्रता बनायो । त्यससँगै एण्डफिल्डमा खुसीयाली छाउन सुरु गरेको थियो । खेलको ७९औं मिनेटमा लिभरपुलले कर्नर प्रहार गर्ने अवसर पायो । २० वर्षिय रक्षक टे«न्ट एलेज्यान्डर–आर्नाेल्डले बल कर्नरमा लगेर राखे र उनी लगत्तै बल छाडेर त्यहाबाट फर्किए । त्यस बेला देखिन्थ्यो उनी आफ्नो सहकर्मीलाई कर्नर प्रहार गर्ने बल छाडेर फर्कदै छन् ।

तर, उनी तुरुन्तै फर्किए र आफैले कर्नर प्रहार गरे । जति बेला बार्सिलोनाका खेलाडी त्यसका लागि तयार नै थिएनन् । उनको प्रहारमा कसैको मार्किङमा नरहेका डिभोक ओरिजीले गोल गरे र लिभरपुलका लागि ऐतिहासिक कमब्याकसँगै फाइनल यात्रा निश्चित गरे । यी युवा खेलाडी एलेज्यान्डर–आर्नाेल्डको चलाखीपूर्ण खेलमा प्रशिक्षक क्लोपले पनि प्रशंसा गरे ।

‘अविश्वसनीय चतुर’, क्लोपले भने, ‘जिनियस ।’

युरोपियन च्याम्पियन्स लिग फुटबल इतिहासमा सेमिफाइनलको पहिलो लेग खेलमा ३–० ले पछि परेका टोलीले योसँगै मात्रै तेस्रो पटक कमब्याक गर्दै फाइनलमा प्रवेश गर्न सफल भएका छन् । सन् १९७०–७१ मा ग्रिक फुटबल क्लब पानाथिनइकोस र सन् १९८५–८६ मा बार्सिलोनाले मात्रै यो कमब्याक हात पारेका थिए । आफ्नो टोलीको असफलतामा बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भालभर्दीले निक्कै असन्तुष्ट देखिए ।

 

‘जव तपाईको टोली यो तरिकाले ध्वस्त हुन्छ’, प्रशिक्षक अर्नेस्टोले भने, ‘हाम्रो अगाडिको दिन साच्चिकै डरलाग्दो हुने छ ।’ बार्सिलोना लगातार दोस्रो सिजन पहिलो लेगको खेलमा आफ्नो तीन गोलकको अग्रता गुमाउँदै च्याम्पियन्स लिग उपाधि होडबाट बाहिरीएको छ ।

बार्सिलोना गत सिजन पनि क्वार्टरफाइनल पहिलो लेगको खेलमा इटालियन क्लब रोमालाई ४–१ गोलअन्तरले पराजित गरेर दोस्रो लेगमा ३–० को पराजय बेहोर्दै प्रतियोगिताबाटै बाहिरीएको थियो ।

लिभरपुलले खेलको सातौं मिनेटबाटै अग्रता बनाउँन सुरु गरेको थियो । जोर्डन हेन्डर्शनको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क एन्डर टर स्टेजेनले पञ्च गर्दै फर्काएको अवस्थामा नजिकै रहेका ओरिजीले गोलमा परिणत गराउँदै घरेलु टोलीलाई १–० ले अगाडि बढाएका थिए । यससँगै पहिलो हाफमा लिभरपुल १–० ले अघि रह्यो । त्यसपछि खेलको ५४औं मिनेटमा जियोजिनियो विज्नाल्डमले गोल गर्दै टोलीलाई २–० अघि बढाए । उनका लागि पनि गोल अवसर एलेज्यान्डर–आर्नाेल्डले नै उपलब्ध गराएका थिए ।

त्यसको दुई मिनेटपछि नै छेदन साकिरीको क्रसमा हेडिङ गोल गर्दै विज्नाल्डमले लिभरपुललाई ३–० को अग्रता दिलाएका थिए । यससँगै लिभरपुलको प्रतियोगितामा अघि बढ्ने निश्चित भयो । लिभरपुलले अव युरोपियन च्याम्पियन्स लिगको उपाधिका लागि आगामी जुन एकमा म्याड्रिडमा हुने फाइनल खेलमा टोट्टनहाम हर्टस्पर र अयाक्समध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्ने छ । टोट्टनहाम र अयाक्स बुधबार सेमिफाइनल दोस्रो लेगको खेलमा नेदरल्यान्ड्सम्यान प्रतिस्पर्धा गर्दै छन् । पहिलो लेगमा अयाक्सले १–० को जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: